काठमाडौं। बुढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालय, हाँतीगौँडाद्वारा नगरभित्रका सार्वजनिक यातायातका चालक तथा सहचालकहरूलाई लक्षित गरी आयोजित तीन दिने सडक सुरक्षा, शिष्टाचार एवं संस्कारयुक्त मानवीय व्यवहार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा करिब तीन सय जना चालक तथा सहचालकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको पहिलो दिन नगरपालिकाको श्रम डेस्कको परिचय, सो डेस्कले अहिलेसम्म सम्पादन गर्दै आएका कार्यहरू तथा कार्यक्रमको उद्देश्य र महत्त्वबारे विस्तृत जानकारी सहभागीहरूलाई प्रदान गरियो। तीन दिनसम्म चलेको यस कार्यक्रमले चालक तथा सहचालकहरूमा सडक सुरक्षाप्रतिको जागरुकता अभिवृद्धि गर्ने, यात्रुसँगको व्यवहारमा सुधार ल्याउने र सार्वजनिक यातायात सेवालाई थप सभ्य तथा भरपर्दो बनाउने लक्ष्य राखिएको आयोजकहरूले जानकारी दिएका थिए।

प्रशिक्षक उपेन्द्र अर्यालले सहभागीहरूलाई यात्रुसँग सधैं मुस्कानसहित व्यवहार गर्न, आपसमा सुसंस्कृत बन्न र सार्वजनिक यातायातलाई नागरिकको विश्वासको केन्द्र बनाउन आग्रह गर्दै “सतर्क चालक नै यात्रुको सुरक्षाको पहिलो आधार हो, गति नियन्त्रण र ध्यान एकाग्र राख्नु चालकको सबैभन्दा ठूलो जिम्मेवारी हो” भन्ने सन्देश दिए। कार्यक्रममा प्रदर्शन गरिएका सूचनामूलक ब्यानर तथा स्ट्यान्डीहरूमार्फत “सुरक्षित सडक, सभ्य सेवा र संस्कारित व्यवहार : उत्कृष्ट सार्वजनिक यातायातको आधार”, “हतारले होइन, सतर्कताले गन्तव्यमा पुगिन्छ” लगायतका सारगर्भित सन्देशहरू सहभागीहरूबीच प्रवाह गरिए।

कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी र उप प्रमुख अनिता लामाले समेत उपस्थित भई सहभागीहरूलाई उत्साहित तुल्याए। नगर प्रमुख अधिकारीले चालक तथा सहचालकहरूलाई नगरको अनुहार भन्दै उनीहरूको व्यवहार र सेवाले नै नगरको पहिचान निर्माण गर्ने बताए। उप प्रमुख लामाले यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाउँदै चालकहरूमा जिम्मेवारीको भावना जगाउन यस्ता अभिमुखीकरण अपरिहार्य रहेको बताइन्।

नगर प्रमुखदेखि उप प्रमुखसम्मको प्रत्यक्ष उपस्थिति र प्रोत्साहनपूर्ण वातावरणका कारण तीन सय हाराहारी सहभागी चालक तथा सहचालकहरू अत्यन्त उत्साहित र खुसी देखिएका थिए। यो अभिमुखीकरण कार्यक्रम बुढानीलकण्ठ नगरपालिकाको सार्वजनिक यातायात सुधार अभियानको एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ, जसले नगरभित्रको यातायात सेवालाई थप व्यवस्थित, सुरक्षित र नागरिकमैत्री बनाउन ठोस भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय