काठमाडौं, २०८३ जेठ ५ गते ।

बुढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालय, हाँतीगौँडा, काठमाडौंद्वारा नगरभित्रका सार्वजनिक यातायातका चालक तथा सहचालकहरूलाई लक्षित गरी सडक सुरक्षा, शिष्टाचार एवं संस्कारयुक्त मानवीय व्यवहार सम्बन्धी तीन दिने अभिमुखीकरण कार्यक्रम मंगलबार नगरपालिकाको सभाहलमा औपचारिक रूपमा शुरु भएको छ।

कार्यक्रमको पहिलो दिन नगरपालिकाको श्रम डेस्कको परिचय, सो डेस्कले अहिलेसम्म सम्पादन गर्दै आएका कार्यहरूको विधि तथा कार्यक्रमको उद्देश्य र महत्त्वबारे विस्तृत जानकारी प्रदान गरियो। तीन दिनसम्म चल्ने यस कार्यक्रमले चालक तथा सहचालकहरूमा सडक सुरक्षाप्रतिको जागरुकता अभिवृद्धि गर्ने, यात्रुसँगको व्यवहारमा सुधार ल्याउने र सार्वजनिक यातायात सेवालाई थप सभ्य तथा भरपर्दो बनाउने लक्ष्य राखेको आयोजकहरूले जानकारी दिएका छन ।

प्रशिक्षक उपेन्द्र अर्यालले कार्यक्रममा सहभागी चालक तथा सहचालकहरूलाई यात्रुसँग सधैं मुस्कानसहित व्यवहार गर्न, आपसमा सुसंस्कृत बन्न र सार्वजनिक यातायातलाई नागरिकको विश्वासको केन्द्र बनाउन आग्रह गरे। “सतर्क चालक नै यात्रुको सुरक्षाको पहिलो आधार हो, गति नियन्त्रण र ध्यान एकाग्र राख्नु चालकको सबैभन्दा ठूलो जिम्मेवारी हो” भन्दै उहाँले नियमको पालना र संयमित व्यवहारलाई व्यावसायिक जीवनको अभिन्न अंग बनाउन जोड दिएका थिए।

कार्यक्रममा प्रदर्शन गरिएका सूचनामूलक ब्यानर तथा स्ट्यान्डीहरूमार्फत “सुरक्षित सडक, सभ्य सेवा र संस्कारित व्यवहार : उत्कृष्ट सार्वजनिक यातायातको आधार”, “जिम्मेवार चालक, सुरक्षित सडक र फलदायी यात्रा हाम्रो गन्तव्य” तथा “हतारले होइन, सतर्कताले गन्तव्यमा पुगिन्छ” जस्ता सारगर्भित सन्देशहरू सहभागीहरूबीच प्रवाह गरिएको थियो। “सभ्य व्यवहार, सुमधुर समाज” र “सुरक्षित यात्रा, सुखी परिवार, समृद्ध समाज” जस्ता नाराहरूले कार्यक्रमको मूल भावनालाई झल्काएको थियो।

कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारीले सार्वजनिक यातायातलाई सुरक्षित, सभ्य र यात्रुमैत्री बनाउनु आजको आवश्यकता मात्र नभई नगरपालिकाको प्रमुख दायित्व पनि भएको बताउदै चालक तथा सहचालकहरू नगरको अनुहार हुन् भन्दै उनीहरूको व्यवहार र सेवाले नै नगरको पहिचान निर्माण गर्ने भएकाले यस्ता तालिम कार्यक्रमलाई नगरपालिकाले विशेष प्राथमिकता दिँदै आएको जानकारी गराएका थिए। उप प्रमुख अनिता लामाले यस तीन दिने अभिमुखीकरण कार्यक्रमले चालकहरूमा जिम्मेवारीको भावना जगाउने र यात्रुसँगको व्यवहारमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेकी थिइन। “यस्ता कार्यक्रम एकपटकमा सीमित नराखी आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिनेछ र बुढानीलकण्ठ नगरपालिका यस दिशामा अथक प्रयास जारी राख्नेछ” भन्दै उहाँले भविष्यमा थप व्यापक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन।

यो अभिमुखीकरण कार्यक्रम बुढानीलकण्ठ नगरपालिकाको सार्वजनिक यातायात सुधार अभियानको एक महत्त्वपूर्ण कदम मानिएको छ, जसले नगरभित्रको यातायात सेवालाई थप व्यवस्थित, सुरक्षित र नागरिकमैत्री बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय