बुढानीकण्ठको सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार-प्रसार गर्ने उद्देश्यले आयोजित दोस्रो बुढानीकण्ठ भिडियो प्रतियोगिता हर्षोल्लासका साथ सफलतापूर्वक सम्पन्न भएको छ। यस प्रतियोगिताले बुढानीकण्ठ क्षेत्रको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई भिडियोको माध्यमबाट विश्व सामु उजागर गर्ने एक महत्त्वपूर्ण मञ्चको रूपमा आफूलाई स्थापित गर्दै आएको छ, जुन भविष्यमा नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतियोगितामा रन्जित श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरे, गोपाल बि.के. द्वितीय स्थानमा रहे भने अम्रित श्रेष्ठ र प्रतिक छेत्री संयुक्त रूपमा तृतीय स्थानमा रहे। विजेतालाई रु. १,००,०००, द्वितीय स्थान प्राप्तकर्तालाई रु. ७५,००० र तृतीय स्थान प्राप्तकर्ताहरूलाई रु. ५०,००० नगद पुरस्कारका साथै  पालि स्व रेष्टुरेन्ट तर्फबाट आकर्षक गिफ्ट भौचर पनि प्रदान गरिएको छ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला उपस्थित रहेका थिए। कार्यक्रम अत्यन्त उत्साहजनक रहेको बताइएको छ र उप-प्रमुख अनिता लामाले सम्पूर्ण प्रतियोगीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै यस किसिमका प्रतियोगिताले क्षेत्रको पहिचान अझ फराकिलो बनाउने धारणा राखिन्। प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाका अनुसार, “यस भिडियो प्रतियोगिताले बुढानीकण्ठ क्षेत्रको सांस्कृतिक विरासत, ऐतिहासिक महत्त्व र पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ र यस्ता आयोजनाले स्थानीय युवाहरूमा सिर्जनशीलता र डिजिटल सामग्री निर्माणको क्षेत्रमा नयाँ ऊर्जा थप्दछ।”

प्रतियोगिताको निर्णायक मण्डलमा प्रभात कुमार रिमाल उपाध्याय, धिरज जंग शाह, चोपेन्द्र सागर पराजुली र सत्यराज जोशी रहेका थिए। निर्णायक मण्डलले प्रतिभागीहरूको भिडियो सामग्रीलाई रचनात्मकता, प्रस्तुतिकरण र सन्देशको प्रभावकारितालाई आधार मानी मूल्याङ्कन गरेका थिए। आयोजकहरूले यस प्रतियोगिताले भविष्यमा बुढानीकण्ठलाई एक अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न र विदेशी पर्यटकहरूलाई नेपालको यस अमूल्य सम्पदाप्रति आकर्षित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय