काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा सूचनाको हक तथा स्वतः प्रकाशन सम्बन्धी अभिमुखीकरण कार्यक्रम २०८२ साल माघ २ गते शुक्रबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रम बिहान ७:०० बजेबाट सुरु भएको थियो। कार्यक्रम नगर प्रवक्ता तथा १० नम्बर वडा अध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल, उप–प्रमुख अनिता लामा, राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त दुर्गा भण्डारी पौडेल लगायतको विशेष उपस्थिति रहेको थियो। साथै वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, नगर सभा सदस्यज्यूहरू, महाशाखा तथा शाखा प्रमुखज्यूहरू र अन्य महानुभावहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको सहजकर्ता प्रशासकीय अधिकृत महेश प्रसाद पाठक रहेका थिए। राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारीले मन्तव्य राख्दै लोकतन्त्रलाई सुदृढ बनाउन सूचनाको हक अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे।  स्थानीय तहले पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्न स्वतः प्रकाशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

प्राविधिक सत्रअन्तर्गत प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सूचनाको हकसम्बन्धी कानुनी प्रावधान, नागरिकको अधिकार र कार्यान्वयनका पक्षबारे जानकारी दिएका थिए भने राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त दुर्गा भण्डारी पौडेलले नेपालमा सूचनाको हकसम्बन्धी व्यवस्था, यसको प्रयोग, चुनौती र अवसरका विषयमा विस्तृत प्रस्तुति दिएका थिए।

कार्यक्रमको समापन नगर प्रवक्ता तथा १० नम्बर वडा अध्यक्ष नवराज भट्टराईले गर्दै अभिमुखीकरण कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीहरूलाई सूचनाको हक प्रभावकारी रूपमा कार्यान्वयन गर्न थप प्रेरणा मिलेको विश्वास व्यक्त गरेका थिए।

बुढानीलकण्ठ नगरपालिकाले नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्न र पारदर्शी स्थानीय शासन प्रणाली विकास गर्न यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय