बुढानीलकण्ठ, कात्तिक १७ – बुढानीलकण्ठ नगरपालिकाले आफ्ना कर्मचारीहरुलाई समाचार लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा महाशाखा तथा शाखा प्रमुख, वडा सचिवहरू र न्युज डेस्कका कर्मचारीहरू सहभागी थिए।
कार्यक्रममा नेपाल प्रेसका वरिष्ठ पत्रकार केशब भुलले प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाँले समाचार लेखनका सैद्धान्तिक र व्यावहारिक पक्षहरूबारे विस्तृत रूपमा जानकारी दिँदै लेखनमा तथ्यपरकता, सन्तुलन र जिम्मेवारीको सिद्धान्तलाई अनुसरण गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले कर्मचारीको सूचना व्यवस्थापन, अभिलेखिकरण र संचार क्षमतामा सुधार ल्याउने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “नगरपालिकाबाट प्रसारित हुने सूचना सही, पारदर्शी र नागरिकमुखी हुनुपर्छ भन्ने हाम्रो लक्ष्य हो।”
कार्यक्रममा नगर उप–प्रमुख अनिता लामाले कर्मचारीको सूचना लेखन र प्रसारण सीप सुदृढ गर्न यो पहल प्रशंसनीय रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सुसूचित कर्मचारी नै सक्षम संस्था निर्माणको आधार हुन्। यस्ता अभिमुखीकरणले पारदर्शी प्रशासन र नागरिकसँगको विश्वास निर्माणमा सहयोग पुर्याउँछ।”
त्यस्तै, बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले अभिमुखीकरणले कर्मचारीहरूमा जिम्मेवारी र लेखन क्षमतामा वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले थप्नुभयो, “प्रशिक्षणमार्फत संस्थागत सञ्चार अझ प्रभावकारी बन्नेछ र यसले नगरको कामकारबाही जनतासम्म स्पष्ट रूपमा पुग्नेछ।”
कार्यक्रमको अन्त्यमा सहभागीले तालिमबाट प्राप्त ज्ञानलाई दैनिक कार्यमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए।






