बुढानीलकण्ठ, कार्त्तिक ०२ गते ।

बुढानीलकण्ठ नगरपालिकद्वारा आयोजित सुरक्षा निकायका विशिष्ट व्यक्तित्वहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।  नगर प्रमुखको अध्यक्षता तथा काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री ईश्वर राज पौडेलको प्रमुख आतिथ्यमा नगरपालिकको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाभित्र रहेका सुरक्षा निकायका विशिष्ट व्यक्तित्वहरु, कार्यपालिकाका पदाधिकारीहरु, कर्मचारीहरु लागयतका सरोकारवालहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री अजय बर्तौलाले कार्यक्रमको ‌औचित्य र उद्धेश्यमाथि प्रकाश पार्दै सबैलाई स्वागत गर्नुभएको थियो ।

समसमायिक विषयमा राखिएको उक्त कार्यक्रममा देशमा उत्पन्न पछिल्लो घटनाक्रम तथा नगरपालिकाले लिनुपर्ने अबको मार्गदर्शनको विषयमा छलफल भएको थियो । छलफलका क्रममा नगरपालिकाभित्रको सुरक्षा जोखिम, सुरक्षा प्रवर्द्धन, नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त भूमिका, ऐतिहासिक र समसमायिक विषयको अध्ययन, सुशासन, भ्रष्टाचार न्यूनीकरण तथा आगामी दिनमा नगरपालिकाले अवलम्बन गर्नुपर्ने उपायहरुको विषयमा वक्ताहरुले आफ्नो धारणा राख्नुभएको थियो ।

छलफलकै क्रममा नगर उप-प्रमुख श्री अनिता लामाले आफ्नो स्थानमा शान्तीपूर्ण रुपमा बस्ने वातावरण निर्माण गर्न टोलबासीले नै सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त माननीय जय बहादुर चन्दले शासन व्यवस्था कायम गर्न सुरक्षा निकायको भूमिका अपरिहार्य रहेको र नगरपालिकाले नगरस्तरबाट एउटा संरचना बनाई वडा तथा बस्तीस्तरमा सुरक्षा सम्बन्धी सचेतना फैलाउनुपर्ने विषयमा आफ्नो धारणा राख्नुभयो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री ईश्वर राज पौडेलले सामान्य अवस्थामा फर्कदै गरेको काठमाडौँलाई कानुन र विधि पालना तर्फ फर्काउन पहल भैरहेको जानकारी गराउनुभयो । त्यस्तै सिसिटिभिको नेटवर्किङ, नेपाल प्रहरी तथा नगर प्रहरी मिलेर नगरपालिकाको सुरक्षा गर्न सकिने विषयमा समेत आफ्नो धारणा राख्नुभयो ।

कार्यक्रमको समापनका क्रममा नगर प्रमुख श्री मिठाराम अधिकारीले आफ्नो टिम निर्वाचित भएर आएदेखीनै नगरपालिकामा सुशासन कायम गर्न प्रतिवद्ध रहेको जानकारी गराउनुभयो । त्यस्तै स्थानीय सरकारले गरेका कार्यहरु वडा मार्फत पनि जनस्तरमा पुग्नुपर्ने, जनतासँग प्रहरी साझेदारी कार्यक्रमको निरन्तरता हुनुपर्ने, जनताको अहिलेको नजिकको साथी सिसिटिभि र सडक वत्ती भएको हुँदा यसमा नगरपालिकाले ५० प्रतिशत लागत साझेदारी गरिरहेको विषयमा जानकारी गराउनुभयो । साथै नगरको समृद्धिका लागि सबै एकजुट भएर लाग्नुपर्ने समेत उहाँले बताउनुभयो ।

नगरपालिकाले समसामयिक विषयमा चरणबद्ध रुपमा छलफलका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस अघि नगरपालिकाले विद्यालयका प्रधानाध्यापकहरुसँगको महत्वपूर्ण बैठक, उद्योग, होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम, मेलमिलापकर्ता, मनोविमर्शकर्ता र नगर स्काउटसँग अन्तरक्रिया कार्यक्रम, विभिन्न संघ-संस्थाबिचको अन्तरक्रिया कार्यक्रम, विशिष्ट प्रबुद्ध वर्गहरुसँग समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय