बुढानीलकण्ठ नगरपालिकाद्वारा असार २३ गते (आज) आयोजित विशेष कार्यक्रममा ६० वर्ष उमेर पुगेका १० जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान र विदाई गरिएको छ। दीर्घकालीन सेवाबाट अवकाश लिँदै गरेका उहाँहरूलाई दोसल्ला, मायाको चिनो तथा नगद उपहार प्रदान गरिएको हो। उहाँहरुलाई सम्मान स्वरुप नगरपालिकाको तर्फबाट जनही ५० हजार र संघीय सरकारको तर्फबाट २० हजार रुपैयाँ नगद प्रदान गरिएको थियो।
सम्मान तथा विदाई पाउनेहरुमा वडा नं. ३ का सुकुमाया श्रेष्ठ, वडा नं. ४ का धनमाया श्रेष्ठ, वडा नं. ०४ का गीता खड्का, वडा नं. ३ का सुकुमाया श्रेष्ठ, वडा नं. ०७ का उर्मिला बोगटी, वडा नं. ०८ का रमा धिताल, वडा नं. ११ जानुका पौडेल, वडा नं. ११ का विमला पौडेल, वडा नं. ११ का उर्मिला चालिसे, वडा नं. ११ का पुष्पा चालिसे र वडा नं. ०९ का सकुन्तला सापकोटा रहेका छन् ।
कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय वर्तौला, जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहाल, विभिन्न वडाका अध्यक्षहरू, जनस्वास्थ्यकर्मीहरू तथा स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।
विदाई समारोहमा नगर प्रमुख अधिकारीले लामो समय समुदायमा पुर्याइएको सेवाप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो।
उपप्रमुख लामाले महिलाले दिएको योगदानले नगरको स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याएको उल्लेख गर्दै, “उहाँहरू हाम्रो प्रेरणा हुनुहुन्छ,” भन्नुभयो। उहाँले सफल अवकाश जीवनको शुभकामना व्यक्त गर्नुभएको छ ।
बिदाइ पाउनुभएका महिला स्वास्थ्य स्वयंसेविका वडा नं. ०९ का सकुन्तला सापकोटा भन्नुभयो, “३ दशक सेवा गर्दा कहिले थाकेको जस्तो लागेन, घरको कामसँगै जनताको सेवा गर्न पाउँदा गर्व लाग्थ्यो। आज यो सम्मानले मुटु भरिएको छ।”
नगरपालिकाले आगामी दिनमा पनि महिला स्वास्थ्य स्वयंसेविकाको अनुभव र सुझावलाई नीति निर्माणमा उपयोग गरिने प्रतिबद्धता जनाएको छ।
















