
बुढानीलकण्ठ, ज्येष्ठ ३०, २०८२ — बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा आज नगरपालिका हलमा आयोजित एक विशेष कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) सम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ। कार्यक्रममा नगरपालिकामा क्रियाशील २० वटा बैंक तथा वित्तीय संस्थाका म्यानेजरहरुको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूको सामाजिक उत्तरदायित्व प्रति जोड दिँदै भने, “समाजमा सकारात्मक परिवर्तन ल्याउन निजी क्षेत्रको भूमिका अपरिहार्य छ। नगरको विकासमा सहकार्यको भावना आवश्यक छ र यस्ता छलफलहरूले साझा पहलको ढोका खोल्छ।”
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत अजय वर्तौलाले भने, “CSR केवल कानूनी दायित्व होइन, नैतिक जिम्मेवारी पनि हो। नगरपालिका र वित्तीय क्षेत्रबीचको सहकार्यले शिक्षा, स्वास्थ्य, वातावरण र पूर्वाधारमा दीर्घकालीन प्रभाव पार्न सक्छ।”
कार्यक्रममा प्रशासकीय अधिकृत महेश पाठकको समेत उपस्थिति रहेको थियो। छलफलमा सहभागी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले आफ्नो अनुभव साटासाट गर्दै आगामी दिनमा नगरपालिका सँग सहकार्य गर्न प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमले बुढानीलकण्ठ नगर क्षेत्रको समग्र सामाजिक विकासमा बैंक तथा वित्तीय संस्थाहरुको योगदान सुनिश्चित गर्ने मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।