
बुढानीलकण्ठ नगरपालिकामा राजस्व व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित राजश्व व्यवस्थापन सम्बन्धी क्षमता विकास कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
नगर सभाहलमा कार्यक्रम २ दिनसम्म वडा सचिव र राजस्व संकलन केन्द्रमा कार्यरत कर्मचारीहरूका लागि आयोजना गरिएको थियो। जेष्ठ २६ र २७ गते सम्पन्न उक्त तालिममा कर्मचारीहरूलाई राजस्वको दिगो संकलन, पारदर्शिता तथा सूचनाको प्रवाह, बजेट व्यवस्थापन र नीतिगत सुधारका विषयमा प्रशिक्षण दिइएको थियो।
त्यसपछिको चरणमा जेष्ठ २९ गते वडा सदस्यहरू (जनप्रतिनिधिहरू) को सहभागितामा अर्को चरणको क्षमता विकास कार्यक्रम सञ्चालन गरियो। सो कार्यक्रममा जनप्रतिनिधिहरूलाई नीतिगत तथा व्यवहारिक पक्षमा ज्ञान प्रदान गरिएको थियो, जसले राजस्व संकलन तथा त्यसको उपयोगमा उनीहरूको सक्रिय भूमिका अझ सशक्त बनाउने विश्वास लिइएको छ।
कार्यक्रममा विशेषज्ञ प्रशिक्षकहरूद्वारा सहजीकरण गरिएको थियो र सहभागीहरूले व्यावहारिक अभ्यास, समूह छलफल र प्रस्तुतीकरणमार्फत प्रशिक्षणमा सक्रियता देखाएका थिए।
स्थानीय सरकारका अनुसार यस्ता कार्यक्रमहरूले स्थानीय शासनमा पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।