
बुढानीलकण्ठ युवा परिषद वडा नं. ०८ द्वारा २०८१ चैत्र ३० गते आयोजित “एसईई क्यारियर काउन्सेलिङ कार्यक्रम २०८१” सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा महांकाल जनजागृति उच्च माध्यमिक विद्यालयका एसईई उत्तीर्ण विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए। विद्यार्थीहरूलाई आफ्नो भविष्यको क्यारियरको सही मार्ग छनोट गर्न मार्गदर्शन गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो, जसले अत्यन्त सकारात्मक प्रभाव पारेको छ।
कार्यक्रममा परिषदका विभिन्न क्षेत्रका सदस्यहरूले आ–आफ्नो अनुभूति र कार्यक्षेत्रका अनुभवहरू विद्यार्थीहरूसँग बाँडेका थिए, जसबाट विद्यार्थीहरूमा आत्मविश्वास र स्पष्टता देखिएको थियो।
कार्यक्रमका प्रमुख अतिथिहरूमा लता कार्की, सुमन तामाङ, बुढानीलकण्ठ युवा परिषदका पूर्व अध्यक्ष अशोक थापा र मेडिकल इन्चार्ज राम पराजुली हुनुहुन्थ्यो। उहाँहरूलाई खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो।
यस कार्यक्रमको मुख्य प्रायोजक कृष्ण कार्कीलाई खादा र मायाको चिनो प्रदान गर्दै प्रमुख अतिथिका रूपमा सम्मान गरिएको थियो। उहाँ कार्यक्रमबाट अत्यन्तै सन्तुष्ट देखिनुभयो र युवाहरूको भविष्यप्रति केन्द्रित यस्ता कार्यक्रमहरूको आवश्यकता औँल्याउनु भयो।
सह-प्रायोजकका रूपमा SajiloPatrik.com ले कार्यक्रम सफल बनाउन विभिन्न तरिकाबाट महत्वपूर्ण सहयोग पुर्याएकोमा हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
कार्यक्रम बुढानीलकण्ठ युवा परिषद वडा नं. ०८ का अध्यक्ष श्रीजन डंगोलको नेतृत्वमा, सचिव रितिश न्यौपाने र सम्पूर्ण कार्यसमितिको सक्रिय सहभागितामा सम्पन्न भएको हो।