
बुढानीलकण्ठ नगरपालिका न्यायिक समितिद्वारा ‘नागरिकसँग न्यायिक समिति’ (न्यायिक संवाद) कार्यक्रमको सुरुवात गरेको छ।
आज मिति २०८१ माघ २५ गते यस बुढानीलकण्ठ नगरपालिका वडा नं १, तौलुङमा रहेको वडा कार्यालय भवनमा पहिलो संवाद कार्यक्रम गरि यस कार्यक्रमको सुरुवात गरिएको हो ।
नेपालको संविधानको धारा २१७ मा व्यवस्था भएअनुसार स्थानीय तहमा रहेको न्यायिक समिति तथा वडा मेलमिलाप केन्द्रको व्यवस्था रहेको विषयमा जानकारी प्रदान गर्ने उद्देश्य सहित उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन् ।
नगरपालिकाको उपाध्यक्ष/ उपप्रमुखको संयोजकत्वमा रहने न्यायिकक समितिले गर्ने काम कर्तव्य र न्याय निरुपणका विषयहरुमा नगरपालिकाका प्रत्येक बासिन्दाहरुलाई सचेत गराउनका लागि यस कार्यक्रमको आयोजना गरिएको हो।
आजको कार्यक्रममा नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख एवं न्यायिक समिति संयोजक अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, वडा नं १ का अध्यक्ष तथा सदस्यहरु प्रशासकीय अधिकृत महेश प्रसाद पाठक, न्यायिक समिति सदस्यहरु द्वय विकास तामाङ लामा, सावित्री ढकाल भट्टराई, लगायतको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो।
कार्यक्रमको शुरुवात न्यायिक समितिको काम कर्तव्य, अधिकारका विषयहरु, हालसम्म समितिले गरेका कार्य तथा न्याय निरुपणका तथ्याङ्कहरु प्रस्तुत गरि गरिएको थियो। त्यस्तै कार्यक्रममा क्रमसँगै नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, न्यायिक समितिका सदस्य लगायत सेवाग्राहीहरुले समेत आफूले पाएको सेवाहरुका सम्बन्धमा आफ्नो अनुभव प्रस्तुत गरेका थिए।
न्यायिक समितिको गठनको उद्देश्य स्थानीय तहका विवाद निरूपण स्थानीय तहमै गर्नको लागि हो । न्यायिक समितिले न्याय सम्पादन गर्दा न्याय छिटो, छरितो र प्रभावकारी रूपमा हुने, नागरिकको घरसारबाटै न्याय प्रवाह हुने कानुनी र व्यावहारिक तवरबाट विवाद निरूपण हुने, मेलमिलाप पद्दतिबाट विवाद निरूपणलाई प्रोत्साहित गर्ने, कम खर्चिलो, झन्झटिलो अदालती प्रक्रियाबाट उन्मुक्ति पाइने, कागजी न्याय नभई वास्तविक न्याय प्राप्त गर्न सहज उपय रहन्छ जसबाट ‘न्यायिक सुशासन’ कायम गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
यस कार्यक्रमको प्रमुख उद्देश्य स्थानीय तहमा कुनैपनि किसिमका विवादहरुलाई अदालतसम्म पुग्न नपर्ने गरि स्थानीय तह, वडा तथा नगरपालिकामै पनि विवादको समाधान गर्न सकिन्छ जसमा वडाका जनप्रतिनिधी, वडा मेलमिलाप केन्द्र, न्यायिक समिति वडा नगर मेलमिलाप केन्द्रबाट पनि न्याय प्राप्त गर्न सकिने व्यवस्था रहेको जानकारी दिनु रहेको छ।
स्थानीय तहमा आफ्नो विवादको विषयलाई प्रक्रियागत रुपमा यस नगरपालिकामा कानूनी सहजकर्ताको व्यवस्था गरिएको जसको कामकर्तव्य अनुसार अदालतको प्रक्रिया अनुसार निःशुल्क वा न्यून दस्तुर रकममा निवेदन, उजुरी, फिरादपत्र, म्याद सुचना तामेल गर्ने, प्रतिउत्तरपत्र लगायतको दर्तादेखि आदेश गर्ने, निर्णय गर्ने, फैसला गर्ने, मिलापत्र गर्ने लगायतका फैसला कार्यान्वयन चरणसम्म गर्दै आएको छ।
यस संवाद कार्यक्रम निरन्तर रुपमा नगरपालिकाका प्रत्येक वडाहरुमा सञ्चालन हुनेछ।
न्यायिक समितिद्वारा गरिएका असल अभ्यासहरुः
- नि:शुल्क कानुनी परामर्श प्रदान,
- न्यायिक समितिबाट फिल्ड निरीक्षण,
- मेलमिलापलाई प्राथमिकता,
- लैङ्गिक हिंसा पिडितलाई आर्थिक सहायता,
- घरेलु हिंसा, बालबालिका र जेष्ठ नागरिक र श्रमिकलाई फिराद दस्तुर नि:शुल्क गरिएको ।
न्यायिक समितिका उपलब्धिहरू
- न्यायिक समितिले विवादको न्यायिक निरूपण, मिलापत्र तथा मेलमिलाप केन्द्रबाट हुने विवादको मेलमिलापसम्बन्धी ऐन तथा कार्यविधिको निर्माण गरिएको छ ।
- न्यायिक समितिले सामान्य नागरिकलाई घरदैलोमै सङ्क्षिप्त कार्यविधि प्रयोग गरी न्यायिक सेवा प्रदान गर्दा धेरै नागरिकले न्यायिक सेवा प्राप्त गर्न सफल भएका छन् ।
- नागरिक र स्थानीय सरकारबीच आपसी सहकार्य र सद्भाव बढेको छ ।
- मेलमिलापको माध्यमबाट विवाद समाधान गर्दा परिवार तथा नगरपालिकामा सामाजिक सम्बन्ध सुदृढ गर्न मद्दत पुगेको छ ।
- वडास्तरमै मेलमिलाप केन्द्रहरूको स्थापना भएको छ । मेलमिलापकर्ताको क्षमता विकासमा योगदान पुगेको छ ।
- बुढानीलकण्ठ नगरपालिकाको न्यायिक समिति संस्थागत विकासतर्फ उन्मुख भइरहको छ ।
- न्यायिक समितिप्रति जनचासो एवं जनविश्वास बढ्दै गइरहेको छ ।
- कानूनको शासनप्रति आस्था एवं भरोसा बढेको छ ।