बुढानीलकण्ठ, १८ असार । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ स्थित जय भद्रकाली आधारभूत विद्यालय (तौलुङ) मा नगर शिक्षा समितिको एक विशेष तथा बृहत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बुढानीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाको मुख्य आयोजनामा आज मिति २०८३ साल असार १८ गते उक्त कार्यक्रमको सफल सञ्चालन गरिएको हो। स्थानीय स्तरमा शिक्षाको पहुँच सुनिश्चित गर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने र संस्थागत कार्य सम्पादनलाई पारदर्शी एवं सुदृढ बनाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको महाशाखाले जनाएको छ।
विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण र अभिमुखीकरण
विशेष गरी सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर उकास्ने रणनीति अन्तर्गत आयोजित यस कार्यक्रममा विभिन्न महत्वपूर्ण आयामहरूमाथि गहन छलफल तथा अभिमुखीकरण गरिएको थियो। सरकारको नीति अनुसार ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ को व्यावहारिक कार्यान्वयन कसरी गर्ने भन्नेबारे रणनीति तय गरिएको थियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा जय भद्रकाली आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो। छात्रवृत्ति वितरण प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउँदै लक्षित वर्गका वास्तविक विद्यार्थीसम्म पहुँच पुर्याउने प्रतिबद्धता महाशाखाले जनाएको छ। यसका साथै, बालबालिकाहरूको सिकाइ प्रक्रियामा घरपरिवार र विद्यालयको भूमिकालाई जोड्न ‘अभिभावक अभिमुखीकरण’ समेत सञ्चालन गरिएको थियो। शिक्षकहरूको प्राज्ञिक तथा आधुनिक शिक्षण कौशल बढाउन ‘शिक्षक मेन्टरिङ’ र विद्यालयको समग्र प्रशासनिक तथा शैक्षिक स्तर मापनका लागि ‘विद्यालय कार्य सम्पादन तथा मूल्याङ्कन’ सम्बन्धी महत्वपूर्ण सेसनहरू समेत सञ्चालन गरिएका थिए।
नगर नेतृत्वको प्रतिबद्धता
उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी र उप-प्रमुख अनिता लामाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले नगरभित्रका हरेक बालबालिकालाई गुणस्तरीय शिक्षाको मूलधारमा ल्याउन र सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार सुधार्न नगरपालिकाले बजेट र नीति दुवैमा प्राथमिकता दिएको कुरा स्पष्ट पारेका थिए। छात्रवृत्तिले विद्यार्थीहरूको सिकाइमा थप हौसला मिल्ने विश्वास व्यक्त गरेका थिए।
त्यस्तै, उप-प्रमुख अनिता लामाले शिक्षामा अभिभावकको भूमिका महत्वपूर्ण हुने भन्दै घर र विद्यालय दुवैतर्फको वातावरण बालमैत्री हुनुपर्नेमा जोड दिदै विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन र टिकाइराख्न अनिवार्य तथा निःशुल्क शिक्षाको नीति कोशेढुङ्गा सावित हुने बताएका थिए।
कार्य सम्पादन र आगामी योजना कार्यक्रममा प्राविधिक एवं व्यवस्थापकीय सहजीकरण गर्दै शिक्षा, युवा तथा खेलकुद महाशाखाका उप-सचिव ललित विक्रम सिंहले विद्यालयहरूको कार्य सम्पादन मूल्याङ्कनका आधारमा आगामी दिनमा थप सुधारका योजनाहरू ल्याइने जानकारी दिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिकाहरू, स्थानीय जनप्रतिनिधि र उल्लेख्य संख्यामा अभिभावकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले छात्रवृत्ति र शैक्षिक सामग्री पाउँदा खुसी व्यक्त गरेका थिए भने उपस्थित सरोकारवालाहरूले यस कार्यक्रमलाई थप प्रभावकारी र अन्तर्क्रियात्मक बनेको भन्दै प्रशंसा गरेका थिए।





