बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ स्थित तौलुङमा सञ्चालित एक महिने अल्लो कपडा बुनाइ सीपमूलक तालिमको अनुगमन नगर प्रमुख मिठाराम अधिकारीको नेतृत्वमा सम्पन्न भएको छ।नगरपालिकाद्वारा जेठ १ गतेदेखि सञ्चालनमा आएको उक्त तालिमको अनुगमनका क्रममा सम्बन्धित शाखाका प्रमुखहरू, नगरपालिकाका कर्मचारी तथा श्रम डेस्कका प्रतिनिधिहरू समेत उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले स्थानीय स्रोत र सीपको विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए। यस्ता सीपमूलक तालिमले रोजगारी सिर्जनाका साथै परम्परागत ज्ञान र सीपको संरक्षणमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उनले तालिमबाट आर्जित सीपलाई व्यवहारमा उतारी आयआर्जन तथा उद्यम विकासमा ध्यान दिन सहभागीहरूलाई आग्रह गरे।
स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोतको उपयोग गर्दै सीप, रोजगार र उद्यमशीलता विकास गर्ने उद्देश्यले सञ्चालित उक्त तालिममा वडा क्षेत्रका महिला तथा पुरुषहरूको उत्साहजनक सहभागिता रहेको छ। सहभागीहरूले अल्लो सम्बन्धी आधारभूत ज्ञान, धागाका रेसा निकाल्ने विधि, धागा प्रशोधन तथा कपडा र विभिन्न सामग्री उत्पादन गर्ने सीप आर्जन गर्ने अवसर पाएको बताएका छन्।
तालिममा अल्लो प्रशोधन, धागा निर्माण तथा कपडा बुनाइ क्षेत्रमा अनुभवी विज्ञ प्रशिक्षकहरूद्वारा व्यावहारिक र सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको छ। प्रशिक्षकहरूले स्थानीय स्रोतको अधिकतम उपयोग गर्दै गुणस्तरीय उत्पादन निर्माण र व्यवसायिकरणका विषयमा समेत सहभागीहरूलाई जानकारी गराएका छन्।
सहभागीहरूका अनुसार मेहनत, लगनशीलता र उचित बजार व्यवस्थापन हुन सके स्वदेशमै अल्लोजन्य उत्पादनमार्फत राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको छ। नगरपालिकाले स्थानीय सीप, परम्परागत ज्ञान र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता तालिमलाई निरन्तरता दिँदै आएको छ। उक्त तालिमले स्थानीय बासिन्दालाई स्वरोजगार तथा लघु उद्यमतर्फ प्रेरित गर्नुका साथै आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।





