तास्केन्तमा हुने विश्व जुनियर तेक्वान्दो च्याम्पियनसिपमा कृतिका कटवाल नेपालको प्रतिनिधित्व गर्दै

काठमाडौं — राष्ट्रिय तेक्वान्दो टोलीकी खेलाडी कृतिका कटवाल अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्न उजबेकिस्तानको तास्केन्त जाने भएकी छन्। Nepal Taekwondo Association अन्तर्गतकी उनी Tashkent 2026 World Taekwondo Junior Championships मा सहभागी हुन लागेकी हुन्, जुन अप्रिल १२ देखि १७ सम्म सञ्चालन हुनेछ। World Taekwondo को आधिकारिक क्यालेन्डरमा समावेश यो प्रतिष्ठित प्रतियोगितामा कृतिकाले ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्। उनको सहभागितालाई नेपाली तेक्वान्दोका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

बुढानिलकण्ठ नगरपालिका–१० मा बसोबास गर्दै आएकी कृतिका लामो समयदेखि स्थानीय तहदेखि राष्ट्रियस्तरसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडी हुन्। उनले विभिन्न प्रतियोगिताहरूमा पदक जित्दै नगरपालिकाको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान दिएकी छन्। निरन्तर अभ्यास र मेहनतकै बलमा उनी हाल राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी हुन्।

यसै अवसरमा बुढानीलकण्ठ नगरपालिकाले कृतिकाको सम्मानमा विशेष बिदाइ कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा प्रशिक्षक दीपक दुलाल, नगर खेलकुद बोर्डका उपाध्यक्ष दीपक तामाङ तथा सदस्य सञ्जय श्रेष्ठको उपस्थिति रहेको थियो।

कार्यक्रममा नगर प्रमुख मिथाराम अधिकारी र उप–प्रमुख अनिता लामा ले कृतिकालाई बिदाइ गर्दै सफलताको शुभकामना व्यक्त गरे। उनीहरूले कृतिकाको मेहनत, समर्पण र संघर्षको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गरे। कृतिका कटवालले तास्केन्तमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम उच्च बनाउने अपेक्षा गरिएको छ।

ताजा समाचार

लोकप्रिय