बूढानीलकण्ठ नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ।
बूढानीलकण्ठ नगरपालिको नगर पार्श्वचित्र २०७५ अनुसार बूढानीलकण्ठ नगरपालिकामा साक्षरता दर ९३.०६ प्रतिशत रहेको छ। कुल जनसंख्या १,५६,३२१ मध्य १५-६० उमेर समुहको जनसंख्या १,१८,३९४ अर्थात ९८.६९ प्रतिशत साक्षर जनसंख्या रहेको नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको हो।
नगरपालिकामा २०७६ सालमा पूर्ण साक्षर घोषणा गर्दा महिला साक्षरता दर ९२.९२ प्रतिशत र पुरुष साक्षरता दर ९३.२० प्रतिशत रहेको छ। शिक्षाको तहगत अवस्था हेर्दा आधारभूत तह उत्तिर्ण गर्ने २३.६९, माध्यमिक तह उत्तिर्ण गर्ने २८.२५ प्रतिशत , स्नातक तह उत्तिर्ण गर्ने ११.३२ प्रतिशत, स्नातकोत्तर उत्तिर्ण गरेका ३.३५ प्रतिशत र बिद्यावारिधि गरेका ३९६ जना रहेका छन्।
साक्षर नगर घोषणा भएको नगरपालिकामा निजि ,सामुदायिक, सार्वजनिक तथा सरकारी बिद्यालय गरी १३१ वटा विद्यालयहरु सञ्चालनमा छन्।
भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरका हिसावले मुल्याङ्कन गर्दा नगरपालिकामा सार्वजनिक विद्यालयहरुको अवस्था उत्साहप्रद नरहेको देखिन्छ। यिनै विषयलाई समावेश गरी शिक्षा क्षेत्र विकासको लागि नगरपालिकाले आवधिक तथा बार्षिक योजनामा शिक्षा सम्बन्धि विभिन्न कार्यक्रमहरु तयार गरेको छ।
प्रारम्भिक बालविकास कार्यक्रमको सुरुवात, आधारभूत शिक्षाको अनिवार्य र निः शुल्क पहुँचको व्यवस्था मिलाए संगै लक्षितवर्गका विद्यार्थिहरुमध्य योग्यताको आधारमा छात्रावृत्ति दिने कार्यक्रमहरु अघि बढाईएको जानकारी शिक्षा महासाखा प्रमुख जगन्नाथ उपाध्यायले जानकारी दिनुभयो। साथै नगरपालिकाका विभिन्न विद्यालयहरुको भवन निर्माण, व्यवस्थापन तथा स्तरोन्नतिको काम पनी भईरहेको छ”, उपाध्यायले जोडे।
नगरपालिकाले शिक्षा क्षेत्र विकासको लागि प्रथम आवधिक नगर विकास योजना (२०७७/०७८ – २०८१/०८२) अन्तर्गत शिक्षा विकासमा ५ वर्षको अवधीमा गरिने विभिन्न कार्यक्रम तथा क्रियाकलापहरूको कार्यान्वयनको लागि २६,८३,२९,०००\- रुपैँया बजेट अनुमान गरेको छ।