सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य प्रजनन स्वास्थ्य अधिकारबारे सचेतना अभिवृद्धि गर्नु, सेवा प्रवाहलाई प्रभावकारी बनाउनु तथा मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा टेवा पुर्याउनु रहेको थियो।
पहिलो दिन तालिमको उद्देश्य र प्रजनन स्वास्थ्य अधिकारबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो। सहभागीहरुलाई प्रजनन स्वास्थ्यको अवधारणा, प्रजनन प्रणाली तथा त्यसका मुख्य अंगहरूबारे जानकारी गराइएको थियो। साथै प्रजनन स्वास्थ्यसँग सम्बन्धित प्रमुख समस्या तथा तिनका समाधानका उपायबारे छलफल गरिएको थियो।
दोस्रो दिन सुरक्षित मातृत्व तथा नवजात शिशु स्याहार, सुरक्षित गर्भपतन सेवा र परिवार नियोजनका विभिन्न साधनहरूबारे जानकारी दिइयो। किशोरावस्थादेखि प्रौढावस्थासम्मका प्रजनन स्वास्थ्यका विषयहरू समेट्दै सहभागीहरूलाई व्यवहारिक तथा कानुनी पक्षबारे समेत अभिमुखीकरण गरिएको थियो।
कार्यक्रममा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी नगरपालिकाबाट प्रवाह भइरहेका सेवाहरू, पहुँच विस्तारका प्रयास तथा समुदायमा जनचेतना अभिवृद्धिका कार्यक्रमबारे जानकारी साझा गरिएको थियो। सहभागीहरूले कार्यक्रम उपयोगी तथा जानकारीमूलक रहेको प्रतिक्रिया दिएका थिए। यस अभिमुखीकरण कार्यक्रमले सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य अधिकारको संरक्षण तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।






