काठमाडौँ, जेठ १२ गते । बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा विद्यार्थीहरूलाई व्यावहारिक, व्यावसायिक तथा जनस्वास्थ्य सम्बन्धी ज्ञान दिलाउने उद्देश्यका साथ ‘कृषि तथा पशुपन्छी सम्बन्धी स्कूल शिक्षा कार्यक्रम’ सम्पन्न भएको छ। नगरपालिकाको पशु सेवा शाखा, चपलीद्वारा जोसेफ माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई पशुपालनका फाइदाहरूका साथै पशुपन्छीबाट मानिसमा सर्न सक्ने ‘जुनोटिक रोग’ र त्यसबाट बच्ने उपायहरूका बारेमा विस्तृत रूपमा अभिमुखीकरण गराइएको छ। यो सचेतना अभियान क्रमशः हरेक दिन नगरभित्रका विभिन्न विद्यालयहरूमा संचालन गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा जनस्वास्थ्यका दृष्टिकोणले अत्यन्तै संवेदनशील मानिएको जुनोटिक रोग (Zoonotic Disease) र यो मानिसमा सर्ने विभिन्न माध्यमहरूबारे विशेष रूपमा प्रकाश पारिएको थियो। विज्ञहरूका अनुसार यस्ता रोगहरू मुख्यतया चार प्रकारका माध्यमबाट मानिसमा सर्ने गर्दछन्। पहिलो माध्यमका रूपमा रोगी पशुपन्छी, घरपालुवा तथा वन्यजन्तुहरूसँगको प्रत्यक्ष संसर्ग र निकटतालाई लिइएको छ। त्यसैगरी, दोस्रो माध्यमका रूपमा प्रदूषित वस्तु वा वातावरण रहेको छ, जसअन्तर्गत दूषित पानी, राम्ररी नसेंकिएका वा नपकाइएका दूध, फुल (अण्डा) र मासुको उपभोग गर्दा तथा रोगी जनावरको छाला, मल-मुत्र र भुत्लाको सम्पर्कमा आउँदा यो रोग मानिसमा सर्न सक्छ।
रोग सर्ने अन्य माध्यमहरूमा संक्रमित रोगी मानिसको निकट सम्पर्क र विभिन्न किटपतङ्गहरू रहेका छन्। जुम्रा, किर्ना, लामखुट्टे, भुसुना, माखा र जुका जस्ता परजीवी तथा कीराहरूको टोकाइबाट पनि जुनोटिक रोगहरू तीव्र रूपमा फैलने गर्दछन्। कार्यक्रममा खाना, हावा र पानीका माध्यमबाट सर्ने यस्ता सरुवा रोगहरूबाट बच्नका लागि घरपालुवा पशुपन्छीको स्वास्थ्य रेखदेखमा विशेष ध्यान दिनुका साथै व्यक्तिगत सरसफाइ र खानपानमा सजगता अपनाउनुपर्ने कुरामा जोड दिइएको थियो।
बिहान १०:३० बजेदेखि सुरु भएको उक्त चेतनामूलक कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, पशु सेवा शाखाका प्रतिनिधिहरू तथा ठूलो संख्यामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा व्यावसायिक कृषिको व्यावहारिक ज्ञान बढाउनुका साथै समुदायस्तरमा जनस्वास्थ्य सम्बन्धी सचेतना फैलाउन र महामारीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न ठूलो मद्दत पुग्ने नगरपालिकाको पशु सेवा शाखाले अपेक्षा राखेको छ।






