बुढानीलकण्ठ, वैशाख ३०। बुढानीलकण्ठ नगरपालिकाले शैक्षिक सत्र २०८३ को सुरुवाती महिनामै नगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयहरूको व्यापक शैक्षिक अडिट अभियान औपचारिक रूपमा सुरु गरेको छ। वैशाख ३० गते बुधबारदेखि आरम्भ भएको यस अभियानअन्तर्गत नगरपालिकाका  वटा विद्यालयहरूमा शुल्क संरचना, शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार तथा विद्यार्थीमैत्री वातावरणसहित विविध पक्षको निरीक्षण तथा मूल्यांकन गरिँदैछ।

अडिट अभियानको पहिलो दिन नगर प्रमुख मिठाराम अधिकारीको नेतृत्वमा गठित टोलीले वडा नं. ७ हात्तीगौंडास्थित ट्रङ्गाम इन्टर नेसनल एकेडेमी तथा गणेशचोकस्थित सामुदायिक विद्यालय श्री गणेश माध्यमिक विद्यालयमा पुगेर शैक्षिक अडिट सम्पन्न गरेको थियो। अभियानको दोस्रो दिन वडा नं. ८ स्थित निजी शैक्षिक संस्था भ्याली पब्लिक हाई स्कुल (Valley Public High School) र क्रमश दिनमा निजी विद्यालयहरूमा डाफोडिल बोर्डिङ स्कुल, लोयल्टी बोर्डिङ स्कुल, काष्टमण्डप स्कुल, सेन्ट जेभियर स्कुल र  १९ सामुदायिक विद्यालयहरूको  शैक्षिक अडिट गरिएको छ। यसरी नगरपालिकाका सम्पूर्ण निजी शैक्षिक संस्था तथा सामुदायिक विद्यालयमा अडिट कार्यक्रम निरन्तर जारी रहने नगरपालिकाले जनाएको छ।

अडिट टोलीमा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, शिक्षा महाशाखाका उपसचिव ललित विक्रम सिंह, वरिष्ठ विद्यालय निरीक्षक अनिता खनाल लगायत नगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो। टोलीले विद्यालयको खेलकुद मैदान, पुस्तकालय, डिजिटल अध्यापन प्रणाली, विद्यार्थीहरूले प्रयोग गर्ने खाद्यान्न सामग्री तथा नर्सरी, एलकेजी र युकेजी तहका बालबालिकाका लागि तयार गरिएको सिकाइ वातावरणको समेत बारीकीसाथ निरीक्षण गरेको थियो। शिक्षकहरूको नियमित उपस्थिति, कक्षाकोठाको व्यवस्थापन तथा विद्यार्थीमैत्री वातावरणबारे पनि टोलीले विशेष चासो व्यक्त गरेको थियो।

नगरपालिकाको अडिटमा विद्यालयले तोकेको भर्ना शुल्क, छात्रवृत्ति व्यवस्था, यातायात सेवा, समयमै लेखापरीक्षण तथा सामाजिक परीक्षण, राजस्व दर्ता तथा चुक्ता, भौतिक पूर्वाधार, विपद् व्यवस्थापन, शौचालय तथा खानेपानीको अवस्था, खाजा तथा स्वस्थ भान्सा व्यवस्थापन, बालमैत्री तथा अपाङ्गतामैत्री संरचना, पाठ्यक्रमअनुसार पठनपाठन, पोशाक तथा स्टेशनरी खरिदमा हुने व्यापारिकरण नियन्त्रण, शिक्षक तथा कर्मचारीको सामाजिक सुरक्षा र पारिश्रमिक, खेलमैदान, सरसफाइ, शिक्षक–विद्यार्थी–अभिभावक सम्बन्ध, गुनासो पेटिका तथा गुनासो व्यवस्थापन प्रणाली, अभिभावक वडापत्र स्थापना र नगरपालिकाको शैक्षिक क्यालेन्डर कार्यान्वयनलगायत विषयहरू समेटिएका थिए।

नगर प्रमुख मिठाराम अधिकारीले विद्यालयहरू केवल नाफामुखी संस्थाका रूपमा नभई गुणस्तरीय शिक्षा प्रदान गर्ने जिम्मेवार संस्थाका रूपमा अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले नगरपालिकाले शिक्षा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विद्यार्थीमैत्री बनाउन नियमित अनुगमन तथा अडिटलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उपप्रमुख अनिता लामाले विद्यालयमा अध्ययन गर्ने प्रत्येक विद्यार्थीले सुरक्षित, मर्यादित र गुणस्तरीय वातावरण पाउनुपर्ने बताउँदै शैक्षिक संस्थाले कानुनी मापदण्ड तथा सामाजिक उत्तरदायित्वलाई पूर्ण रूपमा पालना गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले विद्यालयहरूले शुल्क निर्धारणदेखि लिएर पूर्वाधार, स्वास्थ्य, सरसफाइ र बालमैत्री व्यवस्थापनसम्म संवेदनशील भएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो। नगरपालिकाले अभिभावक, विद्यार्थी र विद्यालयबीच विश्वासको वातावरण निर्माण गर्न अडिट तथा अनुगमनलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको पनि उहाँले बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले अडिट अभियान केवल कागजी प्रक्रिया नभई विद्यार्थी र अभिभावकको वास्तविक हितका लागि गरिएको व्यवहारिक कदम भएको बताउनुभयो। उहाँले नगरपालिकाले विद्यालयहरूलाई कारबाहीको दृष्टिले नहेरी सुधारको साझेदारका रूपमा हेर्ने नीति लिएको जानकारी दिनुभयो। उहाँले थप्नुभयो, “विद्यालयहरूले आफैं स्वयंमूल्यांकन गर्ने संस्कार बसाल्नुपर्छ, तब मात्र शिक्षाको दीर्घकालीन सुधार सम्भव हुन्छ।”

शिक्षा महाशाखाका उपसचिव ललित विक्रम सिंहले विद्यालय अडिटले शैक्षिक संस्थाको वास्तविक अवस्था पहिचान गर्न सहयोग पुग्ने बताउँदै सुधार आवश्यक रहेका विषयमा नगरपालिकाले आवश्यक सुझाव तथा निर्देशन दिने जानकारी दिनुभयो।

प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले निजी विद्यालयहरूलाई व्यवस्थित र उत्तरदायी बनाउन नगरपालिकाको अडिट प्रक्रिया सकारात्मक रहेको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षाका लागि निजी विद्यालयहरू पनि स्थानीय सरकारसँग सहकार्य गर्न तयार रहेको धारणा व्यक्त गर्नुभयो।

नगरपालिकाले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक तथा प्याब्सनसँग विद्यालय सञ्चालनसम्बन्धी विभिन्न विषयमा विस्तृत छलफल गरेको थियो। छलफलपश्चात नगरपालिकाले विद्यालय प्रशासनलाई अभिभावक वडापत्र तथा आवश्यक परिपत्रसमेत हस्तान्तरण गरेको जनाएको छ। नगरपालिकाका सम्पूर्ण निजी शैक्षिक संस्था तथा सामुदायिक विद्यालयमा यो अडिट कार्यक्रम निरन्तर जारी रहने नगरपालिकाले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय