काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा महिला फोहोर संकलन कर्मीहरूको श्रम, मर्यादा र कल्याण प्रवर्द्धन गर्ने उद्देश्यले ‘सम्मान घर (हाउस अफ डिग्निटी)’ को उद्घाटन गरिएको छ। विश्व पुनर्चक्रण दिवसको अवसर पारेर आयोजित कार्यक्रममा उक्त संरचना औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। Khaalisisi र Coca-Cola Bottlers Nepal को संयुक्त पहलमा निर्माण गरिएको ‘सम्मान घर’ बहुउद्देश्यीय सुविधा सम्पन्न स्थान हो। यसले महिला फोहोर संकलन कर्मीहरूका लागि सुरक्षित विश्राम स्थल, बालमैत्री हेरचाह सेवा तथा नियमित तालिम र अन्तरक्रियाका अवसर प्रदान गर्नेछ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. १० का वडा अध्यक्ष नवराज भट्टराई ले यस्तो पहलले श्रमिकहरूको सम्मान र सामाजिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने बताए, स्थानीय तहले श्रमको सम्मानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे। पुनः प्रयोगयोग्य सामग्री र सामुदायिक श्रमको प्रयोग गरी निर्माण गरिएको यो ‘सम्मान घर’ समावेशी र दिगो विकासप्रतिको साझा प्रतिबद्धताको उदाहरणका रूपमा लिइएको छ। यसले विशेषगरी महिला फोहोर संकलन कर्मीहरूको कार्य वातावरण सुधार गर्नुका साथै उनीहरूको जीवनस्तर उकास्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उक्त वडामा हाल फोहोर संकलन कार्य ई–रिक्शा मार्फत सञ्चालन भइरहेको छ, जसले वातावरणमैत्री व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाएको स्थानीय तहले जनाएको छ। आयोजकहरूका अनुसार ‘सम्मान घर’ ले समुदायमा फोहोर व्यवस्थापनप्रति सकारात्मक सोच विकास गर्न र श्रमिकप्रति सम्मानको संस्कार अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय