काठमाडौं । बुढानिलकण्ठ नगरपालिका विपद् व्यवस्थापन शाखाको आयोजनामा विद्यालयस्तरीय विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन तयारीलाई सुदृढ बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको १२ दिने विद्यालयस्तरीय विपद् व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममार्फत विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिलाई प्राकृतिक तथा मानवनिर्मित विपद्का बेला अपनाउनुपर्ने सावधानी, तयारी तथा प्रतिकार्य उपायबारे व्यवहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ।
“१२ दिन – १२ विद्यालय” अवधारणाअनुसार सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत क्रमशः १२ वटा विद्यालयमा अभिमुखीकरण गरिएको थियो। कार्यक्रममा विपद् सचेतना अभिवृद्धि, जोखिम पहिचान, सुरक्षित उद्धार अभ्यास तथा विद्यालयस्तरीय पूर्वतयारीका विषयमा सहजीकरण गरिएको बताइएको छ।

आयोजकका अनुसार सुरक्षित विद्यालय, सजग विद्यार्थी र तयार समुदाय निर्माण गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। यस्ता अभिमुखीकरण कार्यक्रमले विद्यालय स्तरमै विपद् व्यवस्थापन क्षमताको विकास गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।







