जनआवाज बुझ्न र जनसमुदायको उपस्थितिमा सामूहिक निर्णय गर्नका लागि परापूर्वकालदेखि नै चौतारीको विशेष महत्व रहँदै आएको छ । अझ राजनीतिकर्मीका लागि त यस्तो मञ्चको सान्दर्भिकता अझै बढी हुन्छ । पछिल्लो समय स्थानीयस्तरमा हुने छलफल खुम्चिरहेका बेला, बुढानीलकण्ठ सांस्कृतिक–साहित्यिक महोत्सव–२०८० को दोस्रो दिन, बुढानीलकण्ठ, गोकर्णेश्वर र टोखा नगरपालिकाका मेयर चौतारीको महत्वबारे बोल्न एउटै मञ्चमा देखिए।

बुढानीलकण्ठका मीठाराम अधिकारी, टोखाका प्रकाश अधिकारी र गोकर्णेश्वरका दिपक कुमार रिसालले चौतारीको सामाजिक सांस्कृतिक महत्वमा केन्द्रित रही आफ्नो धारणा राखेका थिए। मिठाराम भन्छन्, ‘आज स्थानीय तह आफैंमा एउटा चौतारी भएको छ। छलफल गर्ने थलो पनि। नागरिकको सम्पूर्ण जिज्ञासा बोकेर हामी अघि बढिरहेका छौं। साहित्यक–सांस्कृतिक छलफलमा स्थानीय नागरिकको उपस्थिति होस् भन्नका लागि नै हामीले यो महोत्सवको आयोजना गरेका हौं। आगामी दिनमा पनि यसरी छलफल हुने वातावरण बनाउनका लागि हामी लागिरहने छौं।’

दिपकले भने आफ्नो क्षेत्रका प्रसिद्ध साहित्यकार रमेश विकलको सम्झना गर्दै भने, ‘पहिलो आरुबारीको चापाबोटमा रमेश विकलले साथीहरुसँग बसेर कला साहित्यको कुराकानी गर्नु हुन्थ्यो। अझै पनि त्यो परम्परा यथावत रहोस् भन्नका लागि आफ्नो नगरमा नियमितजसो साहित्यिक गतिविधि गरिरहेका छौं।’

समुदायको छलफलको थलो चौतारी जोगाउन आपूm गम्भीर रहेको टोखाका मेयर प्रकाशले जानकारी दिए। उनले चौतारीको पहिले र अहिलेको महत्व दर्शाउँदै भने, ‘पहिले राजनीतिक तथा प्रशासनिक इकाइ गठन नहुँदा चौतारी मान्छेहरुको भेटघाट गर्ने संगम स्थल थियो। त्यहाँ राजनीतिक तथा न्यायिक निर्णय गरिन्थ्यो। अहिलेको सन्दर्भमा स्थानीय तहको चौतारी नगरसभा हो। जहाँ हामीले विकासका आयामहरुलाई निरुपण गरिरहेका छौं। नागरिकको आवाजलाई नजिकबाट अनुसरण गरेर नगरसभामार्फत विकासका विभिन्न विषयवस्तुलाई पस्किरहेका छौं।’

तीनै जना मेयरले सामाजिक, आर्थिक, सांस्कृतिक र धार्मिक विकासमा आपूmहरु सजग रहेकोमा जोड दिए। भौतिक र मानवीय विकासलाई कसरी समन्वय गर्नु हुन्छ भन्ने सहजकर्ता विमल आचार्यको प्रश्नमा जवाफमा मेयरहरुले शिक्षा, स्वास्थ्य, खानेपानी तथा कलासाहित्यका क्षेत्रमा नगरमा भइरहेको कामको फेहरिस्त प्रस्तुत गरेका थिए।

कार्यक्रमको अन्तिम चरणमा स्थानीय नागरिकका लागि पनि प्रश्न सोध्न दिइएको थियो । ती प्रश्न विशेष गरी खानेपानी समस्या र शिवपुरी राष्ट्रिय निकुञ्ज तथा बफर जोनका कारण आपूmले भोग्नु परेको हैरानीमा केन्द्रित थियो।

तीनवटै नगरपालिका काठमाडौं उपत्यकामा हाइकिङका लागि प्रसिद्ध छन्। पर्यटन क्षेत्रको विकासको प्रचुर सम्भावना बोकेका नगरपालिका पनि हुन् यी। त्यस्तै शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौं उपत्यकाको खानेपानीको भरपर्दो स्रोत हो। तीनै जना मेयरले स्थानीय बासिन्दाको सरोकारका लागि ध्यान दिँदै यसको संरक्षण आफ्नो  प्राथमिकतामा रहेको जोड दिए।

सभाध्यक्ष सूर्यनाथ उपाध्यायले सेसन समापन गर्दै भने, ‘मेयरहरु जनतासँग नजिक हुनुपर्छ, मेयरलाई प्रश्न सोधिरहनु पर्छ। यस अर्थमा यस्तो कार्यक्रम झनै सान्दर्भिक छ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय