बुढानीलकण्ठ, माघ १३ गते ।
बुढानीलकण्ठ वडा नं ०६ ईटालिटार स्थित सडक बाटो चौडाई गर्ने क्रममा उक्त क्षेत्रमा परेका केहि पर्खालहरु माघ १२ गते नगरपालिकाको नेतृत्वमा बुढानीलकण्ठ प्रहरी प्रभाग, नगरप्रहरी र डोजर परिचालन गरी भत्काईएको छ ।
वडा अध्यक्ष रवि खड्का र श्रीराम के.सी. का अनुसार ईटालिटार मुख्य सडकबाट पासिकोट हुँदै टोखा नगरपालिका विष्णुमति पुल सम्म जोड्ने ६ मिटरको बाटो चौडाई, ह्युमपाईप जडान र कालोपत्रे/ढलान को लागी आ.व. २०७७/७८ सालमा सुरु भएको योजना हाल सम्म कार्यान्वयनमा समस्या आईरहेको अवस्थामा उक्त कदम चालिएको हो ।
टेन्डरको विवरणः
बुढानीलकण्ठ नगरपालिकाबाट वडा नं ०४ र ०६ को महत्वपुर्ण भुभाग जोड्ने ईटालिटार देखि पासिकोट हुँदै टोखा विष्णुमति पुल सम्मको सडक बाटो साँघुरो भएको कारण स्थानीयले आवतजावतमा निकै सास्ती भोगिरहेको अवस्थामा यसलाई चौडाई गरी ६ मि. बाटो निर्माण गर्ने उपभोक्ताहरुको माग अनुसार ६ मिटर बाटो निर्माणको लागी २०७८/०७/१६ गते ज्वालामाई/ झरना जे.वि. कम्पनि सँग लागत १,१५,०७,९४६/- रुपैयाँमा सम्झौता भएको थियो ।
नगर प्रमुख मिठाराम अधिकारीका अनुसार उक्त टेन्डर कार्यान्वयनको चरणमा आईपुग्दा टोखा विष्णुमति पुल देखि सुरुभई पासिकोट हुँदै लुडेखोला नयाँ पुल सम्मको बाटो चौडाई गर्ने कार्य सम्पन्न भईसकेको छ । वडा नं ०४ पासिकोटमा पर्ने क्षेत्रको सडकमा कालोपत्रे समेत भईसकेको वडा अध्यक्ष श्री राम के.सी. ले जानकारी दिनुभएको छ ।
यसै क्रममा बाटो ईटालिटार नयाँ पुलबाट ईटालिटार चोक सम्म ह्युमपाईप जडान गर्ने कार्य सम्पन्न भएको र चौडाई गर्ने क्रममा त्यहाँका केहि उपभोक्ताहरुले असहमति जनाएको अवस्था भएको कारण टेन्डरको काम स्थगित भएको थियो ।
टेन्डर किन रोकियो ?
टेन्डर कार्यन्वयनको चरणमा रहँदा ईटालिटार लुडेखोला पुल देखि चोक सम्म चौडाई गर्ने क्रममा त्यहाँका वासिन्दाहरुले ६ मिटर बाटो कायम गराउन आफ्नो घर-जग्गाको केहि भाग पर्खाल भत्काउन पर्ने अवस्था सिर्जना भयो ।
सोहि निर्णय सँग त्यहाँका ८० प्रतिशत उपभोक्ताहरुले सहमति जनाएको र बाँकि केहि उपभोक्ताहरुको असहमति रहे पश्चात टेन्डर अघि बढ्न नसकेको वडा अध्यक्ष रवि खड्काले जानकारी दिनुभयो ।
टेन्डर पुनः कार्यान्वयन गर्नका लागि के-कस्ता प्रयास भए?
टेन्डरलाई पुनः कार्यन्वयन गर्नका लागी सहमतिमा आएका उपभोक्ताहरुको बाटो चौडाई गर्न पर्ने माग र हितलाई सम्बोधन गर्दै विभिन्न चरणका वैठकहरु बस्दै आएको अध्यक्ष खड्काले बताउनुभयो । “पटक पटक बसेको बैठकमा सरोकारवालाहरु सहित नगर प्रमुख मिठाराम अधिकारीको समेत उपस्थिति रहेको थियो”, उहाँले जोड्नुभयो, ” हामिले सहमतिमा ल्याउनको लागि निकै प्रयास गरे पश्चात उक्त क्षेत्रमा पर्ने घर-जग्गाहरु मध्य ८० प्रतिशत उपभोक्ताहरुले बाटो चौडाई गर्ने निर्णयमा सहमति जनाएको र नगरपालिका र उनिहरु विच घरधनी आफैले पर्खाल भत्काउने सम्झौता भयो”। सम्झौतामा भत्काईएको पर्खालको पुनः निर्माणको जिम्मा नगरपालिकाले लिने जनाईएको छ, खड्काले जानकारी दिनुभयो ।
यस क्रममा अझै २० प्रतिशत घर धनिहरुले असहमति जनाईरहेको अवस्था भए पछि फेरी पनि काम अघि बढाउन सकिएन । माघ ३ गते नगर प्रमुख असहमत रहेका घर/जग्गा धनिहरुको घर-घरमै गई अनुरोध गर्दा समेत उनिहरुबाट सहमति नपाए पछि अधिकांश उपभोक्ताहरुको माग र हितलाई समर्थन गर्दै माघ १२ गते नगर प्रमुख, उपप्रमुख , वडा नं ०६ अध्यक्ष, वडा नं ०४ वडा अध्यक्ष, दुवै वडाका सदस्यहरु र सुरक्षा निकायहरुको उपस्थितिमा डोजरले पर्खाल भत्काएको खड्काले जानकारी दिनुभयो ।
नगर प्रमुख मिठाराम अधिकारीका अनुसार उक्त भत्काईएका संरचनाहरुको नगरपालिकाकै लागतमा पुनः निर्माण गरिने छ ।