बुढानीलकण्ठ, माघ ११ गते ।
बुढानीलकण्ठ नगरपालिकामा माग ११ गते (आज) देखि तेश्रो वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला अर्थात बुढानीलकण्ठ करियर फेयर सुरु भएको छ ।
मेलाको आज प्रमुख अतिथि बागमती प्रदेश सामाजिक विाकस मन्त्रालयका सचिव डा. भीष्म कुमार भुसालले उद्घाटन गर्नुभएको थियो । नगरपालिका प्रशासनीक भवन परिसरमा २ दिनसम्म चल्ने मेलामा विभिन्न क्षेत्रका ४२ वटा स्टल छन् ।
बुढानीलकण्ठ नगरपालिकाको आयोजना तथा स्विजरल्यण्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोग एवं समन्वयमा भएको २ दिने मेलाको पहिलो दिनमा भ्रमण अवलोकनमा आएका ६३८० जनाले उपस्थिति दर्ता गराएको आयोजकले जनाएको छ । आयोजकका अनुसार १५ हजार भन्दा बढिलाई यस मेलामा सहभागि गराउने लक्ष्य रहेको छ । र बढी भन्दा बढी बेरोजगार व्यक्तिहरुलाई सिप र तालिम दिने जनाईएको छ ।
बेरोजगार युवा, गृहीणी महिला तथा एस.ई.ई. र +२ दिएर बसेका विद्यार्थीहरुलाई आवश्यक तालिम र परामर्श प्रदान गर्दै रोजगारीमा स्थानन्तरण गर्ने उद्देश्यका साथ मेला आयोजना भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंहले जानकारी दिनुभयो ।
आज भएको उद्घाटन कार्यक्रमको अध्यक्षता नगरपालिका सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनीले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा बागमती प्रदेश सामाजिक विाकस मन्त्रालयका सचिव डा. भीष्म कुमार भुसाल उपस्थित हुनुहुन्थ्यो । यस्तै अतिथिमा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, दिगो सम्मानीत रोजगारीका लागी सिप परियोजनाका डेप्युटि टिम लिडर कन्चन तामाङ, नगरपालिकाका सम्पुर्ण वडाका वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य लगायत नगरपालिका महाशाखा/शाखा प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र नगरपालिका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
यस मेलामा ३ किसिमका सहभागीहरु आएका छन् । जसमा, “बेरोजगार व्यक्ति, युवा र गृहीणी महिला”, “क्षमता विकास तथा सिपमुलक तालिम दिने संस्था” र “रोजगारदाता संघ-संस्था तथा कम्पनी” ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि डा. भिष्म कुमार भुषालले वृत्ति र रोजगारीको खोजिमा अलमलिरहेका युवा जमातको लागी निकै महत्वपुर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।
नगरप्रवक्ता नवराज भट्टराईले मेलाको पहिलो दिन नै ६ हजार पाँचसय भन्दा बढि युवाहरु मेलामा सहभागी भएका जानकारी दिनुभयो । उहाँले दुईदिन संचालन हुने मेलामा नगरले आँकलन गरेका भन्दा धेरै युवाहरुले सहभागिता जनाउनसक्ने अनुमान गरेको बताउनुभएको छ । यस मेला मार्फत नगरपालिकामा स्वरोजगारीको अवसरहरु सिर्जना गर्दै युवालाई वैदिशिक रोजगारीमा पठाउनु भन्दा स्वदेशमै उद्यमी तथा स्वरोजगार बन्न सक्ने सम्भावनाहरु मार्ग निर्देशन गर्ने र आवश्यकता अनुसार स्थानीय सरकारबाट उनिहरुको क्षमता अभिवृद्धि गर्ने अथवा विँउ पुँजी रकम सहयोग गर्ने बताउँनुभयो ।
आफ्नो व्यस्तताका कारण उद्घाटन कार्यक्रममा उपस्थित नहुनुभएका नगर प्रमुख मिठाराम अधिकारी र अनिता लामाले दिउँसो मेलाको अवलोकन भ्रमण गरी विद्यार्थी र स्टल संचालकहरु संग अन्तरक्रिया गर्नुभएको थियो ।
नगरप्रमुख मिठाराम अधिकारीले विदेशियका युवालाई देशमै केही गरौं भन्ने जनचेतना दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले युवाहरु पढ्ने वा रोजगारीमा विदेश जाँदा ठुलो मात्रामा देशको आर्थिक हिस्सा विदेशिएको बताउनुभयो । जसका कारण पनि देशमा आर्थिक संकट आएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, “देश छोडेका युवा विदेशमै पलायन हुने भएकाले देशमा विभिन्न समस्या भएको छ । पढ्न भनेर गएका युवाहरु नेपालमै फिर्किएर नयाँ काम गरेका छैनन् । त्यसैले युवालाई देशमै केही गर्न सकिन्छ र केही गर्नुपर्छ भन्नेर उत्प्रेरणा दिन पनि नगरले कार्यक्रम आयोजना गरेको हो ।”
नगर उपप्रमुख अनिता लामाले नगरका युवालाई स्वरोजगार प्रदान गर्न र युवा शक्तिलाई देशमै रोजगारी उपलब्ध गराउने उदेश्यले कार्यक्रम गरिएको बताउनुभयो । उहाँले ज्ञान, सीप, क्षमता भएका सम्भावना बोकेका युवालाई नयाँ कामको खोजी गर्न मेलाबाट सहज हुने धारणा राख्नुभयो । उपप्रमुख लामाले नगरको आ.व. ०८0/८१ को नीति कार्यक्रममा पहिला शिक्षालाई प्रथामिकता दिने र दोस्रो स्वरोजगारका समस्या समाधानका मागलाई सम्बोधन गर्ने तयारी गरेको जनाउनुभयो ।
मेलामा ४२ भन्दा बढि रोजगार प्रदायक र सिपमुलक तालिम तथा परामर्श दिने संघ संस्थाहरुले स्टल राखिएका छन् । सम्पुर्ण स्टलहरुको व्यवस्थापन निःशुल्क गरिएको छ । साथै मेलामा प्रवेश शुल्क पनि निःशुल्क छ ।
मेला अवलोकन गर्न आएका विद्यार्थीहरुलाई नगरपालिकाको सभाहलमा ‘मेरो भविष्य’ सम्बन्धीत विषय विज्ञहरुले सामुहिक परामर्श दिनुभएको थियो ।
अवलोकनमा आउनुभएका विद्यार्थी, युवा तथा गृहिणी महिलाहरुले सिप सिकाउने संस्था लगायत रोजगारदाताहरु सँग प्रत्यक्ष संवाद गरेका थिए । सहभागिहरुले यस मेलाबाट वृत्ति विकास सम्बन्धी परामर्श पाएकोमा र संस्थाहरु सँग प्रत्यक्ष संवाद गर्न पाँउएकोमा खुसि व्यक्त गरेका छन् । अधिकांशले तालिम प्रदायक संस्थामा तालिमका लागी फारम भरेका छन् भने रोजगारीमा ईच्छा देखाउनु भएकाहरुलाई केही संस्थाले रोजगारी समेत प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।
नगरपालिकाको अनुसार आर्थिक वर्ष २०७८/७९ मा बुढानीलकण्ठ नगरपालिकाले उपत्यकामै पहिलो पटक यस मेलाको सुरुवात गरेको थियो । उक्त मेलामा २५६० जनाले उपस्थिति दर्ता गराएका थिए । जसमध्ये १५७० जनाले प्रत्यक्ष परामर्श पाएको नगरपालिकाको अभिलेखमा उल्लेख छ ।
यस्तै, यसको दोश्रो संस्करणमा १०४८० जनाले उपस्थिति दर्ता गराएका थिए । जसमध्य ५०४० जनाले प्रत्यक्ष परामर्श पाएको र १७ जनाले रोजगारी समेत प्राप्त गरेका थिए ।
यस तेश्रो संस्करणमा करिब १५ हजार जनाले अवलोकन भ्रमण गर्ने आयोजकले अपेक्षा राखेको छ ।