बूढानीलकण्ठ, असोज १९ गते ।
बूढानीलकण्ठ नगरपालिका वडा नं ०२ मा बजार अनुगमन भएको छ ।
वडा नं ०२ अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा गएको बजार अनुगमन समितिले असोज १९ गते वडा नं ०२ स्थित भंगाल आसपासको बजार क्षेत्रका किराना, माछा-मासु, दुध, तरकारी पसल, मेडिकल हल, भेटरनरी तथा अन्य खाद्य व्यवसायहरुको निरिक्षण गरेको हो ।
अनुगमन समितिले बजारमा भेटिएका सढेगलेका तथा म्याद गुज्रेका सामान जफत गरेको छ भने दर्ता नगरेका र नविकरण नभएका व्यवसायहरुलाई आवश्यक प्रक्रिया पुरा गर्न १ हफ्ताको समय दिएको छ । साथै सरसफाई र बजार व्यवस्थापनका मापदण्डहरु पालना गर्न अनुरोध गरिएको छ ।
यसैगरी केहि मेडिकल तथा पोलिक्लिनिकहरुमा अनधिकृत रुपमा औषधी बिक्रि वितरण गरेको तथा एक्स-रे लगायत ल्याब सेवाहरुको उचित व्यवस्थापन नभएको पाएकोले उक्त मेडिकलहलहरुको गतिविधि छानबिन भईरहेको श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार बिना फार्मेसिस्ट तथा लाईसेन्स नभएका व्यक्तिहरुले औषधी बिक्रि वितरण गरिरहेको मेडिकलहलहरुलाई फार्मेसिष्ट तथा लाईसेन्स प्राप्त व्यक्ति नराखेसम्मका लागि बन्द गर्न निर्देशन दईएको छ । स्वास्थ्य जस्तो संवेदनशिल विषयमा हेलचेकराई गर्न नहुने बताउदैँ आवश्यक निर्देशन पालना भए पश्चात पूनः संचालन गर्न दिने श्रेष्ठले जानकारी दिनुभएको छ ।
अनुगमनमा उपस्थित जनस्वास्थ्य अधिकृत जिवन शर्माका अनुसार मेडिकलहरुले डाक्टरको परामर्श र स्विकृत विना क्लोनाज, लोरिपाम, क्लोजेप,अल्पाज जस्ता नशाजन्य औषधीहरु राखिएको तथा बिक्रि बितरण गरेको पाईएकोले मुचुल्का तयार गरी वडा अध्यक्ष,सदस्य र नेपाल प्रहरी र नगर प्रहरीको रोहबरमा उक्त औषधीहरु जफत गरिएको जानकारी दिनुभएको छ । औषधी साथै नार्कोटिक्स औषधी बिक्रि गरेको केहि रेकर्डबुकहरु संकासपद देखिएको कारण छानबिनको लागी रेकर्ड पनि जफत गरिएको छ ।
आज गएको अनुगमन टोलिले भंगाल आहना डेरीको नाममा संचालन भईरहेको दुध डेरीमा समेत अनुगमन गरेको थियो । डेरीमा सरसफाई र डल व्यवस्थापनमा कमजोरी देखिएको हुनाले अनुगमन समितिले १ हफ्ताको समय भित्र आवश्यक व्यवस्थापन गर्नुहुन निर्देशन दिएको छ ।
अनुगमन मार्फत व्यवसाय संचालक तथा उपभोक्ताहरुलाई त्रसित पार्न नभई सचेत गराउने उद्देश्यका लागी गरिएको हुनाले बजार व्यवस्थापनमा बिशेष ध्यान दिनुहुन सम्पुर्णमा अध्यक्ष श्रेष्ठले अनुरोध गर्नुभएको छ ।
अनुमगनमा वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ सहित, वडा नं ०२ सदस्य राम बिनोद लामिछाने, सदस्य राज काजि श्रेष्ठ, सदस्य पार्वति श्रेष्ठ, प्रशासन अधिकृत राजकुमार थापा, पशु सेवा शाखा अधिकृत ओम कुमारी गुरुङ , कृषी शाखा प्राविधिक ज्ञानी पौडेल, नगर प्रहरी ईन्चार्ज रमेश खतिवडा लगयात नेपाल प्रहरी, नगर प्रहरी र वडा नं ०२ का स्थानीय युवाहरुको उपस्थिति रहेको थियो ।