बूढानीलकण्ठ, भाद्र ०१ गते ।

बूढनीलकण्ठ नगरपालिकामा वृहत सरसफाई अभियान सुरु भएको छ ।

नगरपालिका जन प्रतिनिधि, शाखा/महाशाखा प्रमुख, सुरक्षा निकाय, स्थानीय समाज, फोहर व्यवस्थापन संस्था लगायत सम्पूर्ण सरोकारवालाहरुको ब्यापक सहभागितामा वृहत अभियान सञ्चालन सुरु भएको हो ।

भाद्रा ०१ गते  (आज) बूढानीलकण्ठ मंदिर क्षेत्र देखि हात्तिगौडा सम्मका सडक पेटि सरसफाई गरी अभियानको  सुरुवात भएको नगर प्रमुख मिठाराम अधिकरीले घोषणा गर्नु भएको छ ।

पछिल्लो समय फोहोर व्यवस्थापन र सडक पेटि अतिक्रमण सम्बन्धी विभिन्न समस्या सिर्जना भईरहेको स्थितिमा नगरपालिकाले आफ्नै पहलमा चेतनामुलक अभियान सुरु गरेको प्रमुख अधिकारीले बताउनुभयो । नगर क्षेत्रको सरसफाइले नगरवासीको सभ्यता झल्काउने भन्दै आफ्नो सभ्यता र स्वास्थ्यका लागि नगरवासीले नगरलाई नियमित सफासुग्घर राख्न अनुरोध समेत उहाँले गर्नुभयो ।

फोहोरहरुको उचित व्यवस्थापनका लागि सरोकारवालाहरुलाई जनचेतना फैलाउन यो अभियान हरेक महिनाको ०१ गते प्रत्यक वडामा सञ्चालन हुने छ ।

हालको फोहोर समस्या समाधानका लागि प्रारम्भिक चरणको वैकल्पिक उपाय भनेकै आफ्नो घरबाट निस्केका फोहोरको आफैले समुचित व्यवस्थापन गर्ने भएकोले  सरोकालवालाहरु आफै सचेत हुन जरुरी रहेको उप-प्रमुख अनिता लामाले जानकारी दिनुभयो । यसको दिर्घकालिन समाधानका लागि विभिन्न तहका बहस र छलफल भइरहेको छ । तर, तत्काल समाधानका लागि स्थानीय वासिहरु आफै सचेत भई यसको बैकल्पिक व्यवस्थापनमा जुटौ भन्ने चेतना फैलाउन यो अभियान चालेको लामाले जोड्नु भयो ।

हरेक घरबाट नियमित रुपमा निस्कने कुहिने नकुहिने फोहोर छुट्टाएर त्यसको पून:प्रयोगमा ल्याउने घरेलु विधिहरुको समेत नगरपालिकाले तालिम सञ्चालन गर्ने योजना रहेको छ, लामाले भन्नुभयो, ” घरेलु फोहोरबाट जैविक मल उत्पादन गर्ने विधि प्रयोग गरी कौसि खेति प्रवर्धन समेत गर्न सकिन्छ” ।

साथै सोहि अभियान मार्फत सडक पेटिमा रहेका अव्यवस्थित पार्किङ्, ठेलागाडा लगायत निर्माण सामाग्रीका व्यवसायहरुले सडकको सौन्दर्यतामा बाधा पुर्याएकोले सार्वजनिक सरोकारका विषयमा पालना गर्नु पर्ने नियम सम्बन्धी चेतनामुलक सन्देश समेत यस अभियानले दिएको प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामीछानेले बताउनुभयो । सडक पेटि अतिक्रमण गरि सञ्चालन भईरहेका केहि व्यवसायहरुलाई हामिले कार्बाहि समेत गरेका छौ , उहाँले जोड्नुभयो ।

बूढानीलकण्ठ मंदिर क्षेत्रको सरसफाई गर्दै सुरु भएको सरसफाई कार्यक्रम नारायणस्थान चोक-रुद्रेश्वर चोक-चपलि गाँउ हुँदै हात्तिगौँडा स्थित नगरपालिका कार्यालय प्राङ्गण सम्म आएर टुङ्गिएको थियो । कार्यक्रममा जनप्रतिनिधि र शाखा/ महाशाखा प्रमुख सहित नगर प्रहरी, सरसफाई कर्मचारी, समाजसेवी लगायत स्थानीयले साथ दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय