बूढानीलकण्ठ, श्रावण ०१ गते ।
साहित्यीक, सांस्कृतिक समूह ‘जेसुम’ टीम बूढानीलकण्ठ नगरपालिका यात्रामा निस्केको छ । असार ३१ गते (शनिबार) जेसुम समुहले ‘ देशभित्रै घुमौं, देशलाई चिनौं’ भन्ने नारा सहित सकरात्मकताका लागि बूढानीलकण्ठको साँस्कृतिक रुपले सम्पन्न प्राचिन वस्ति चुनिखेल भ्रमण गरेको थियो ।
आजभन्दा ३ वर्ष अघि सुरु गरिएको जेसुमको यस अभियानकी संयोजक हालको बूढानीलकण्ठ उप-प्रमुख अनिता लामा हुन् । उहाँको नेतृत्वमा रहेको अभियानमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ख्याति प्राप्त साहित्यकार, चित्रकार, रंगमञ्चकर्मी लगायत कलाकारहरु अभियान्ताका रुपमा छन् ।
जेसुम यात्रामा अभियान्ताहरु सम्बन्धित ठाँउको भ्रमण गरी त्यहाँका सँस्कृति, कला, ईतिहास, मठ मंदिर, चाडपर्व, जात्रा जस्ता आकर्षणका केन्द्रहरुको चासो राख्दछन् र तेसैलाई साहित्य र कला मार्फत प्रस्तुत गर्ने गर्छन् ।
कला, साहित्य र रङ्गमञ्चको सम्मिश्रणबाट सञ्चालित जेसुम अभियान नेपालभित्रका स्थानीय कला, संस्कृति, सम्पदा, भाषा र सभ्यताको पहिचान, प्रसार तथा जेसुम अभियान लागि सञ्चालित एक सकरात्मक अभियान हो ।
चुनिखेलको प्रवर्द्धनका लागि वडा नं १३ को निमन्त्रणालाई स्विकार गर्दै जेसुम समुहका साहित्यकार स्नेह सायमी, लक्ष्मी माली, फुलमान बल, बासु देव अधिकारी, विना थिङ, श्याम श्रेष्ठ, शशि लुमुम्बु, शुरेश हाच्ये काली, अजित मान घिसिङ, अस्मिता मानन्धर, उत्तम रावत, आर. यस. डंगोल, जगत तामाङ, लगायत संयोजक अनिता लामा स्वयं वडा नं १३ मा रहेका सात वटा गाँउः “टुःपेक, चुनिखेल, गाम्चा, कौडोल, सापाटार, जगडोल र नयाँवस्ति” को ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्वको खोजिमा करिव दुई घण्टा पैदल हिडे ।
साहित्यकार सँगै चित्रकार दिपेन्द्र बनेपालि, एन.बि. गुरुङ, बाबु साईला , डिराम पाल्पाली, नेम गोले, लाल काजी लामा, मनरा प्रजापति, रमिला महर्जन, विपना महर्जन, चन्द्रा श्रेष्ठ, कान्छा काजि भासिमा लगायत कविना वोडेहरु पनि आफ्नो ‘क्यान्भस’ मा कोर्न परिदृश्यहरु खोजिरहे ।
जेसुम समुहलाई ‘गाईड’ गरिरहेका थिए वडा नं १३ का वर्तमान अध्यक्ष टिकेश नारायण श्रेष्ठ, निवर्तमान अध्यक्ष श्री कृष्ण श्रेष्ठ, वडा नं १३ का अगुवा व्यक्तित्वहरु र स्थानीयले ।
“चुनिखेल जुन साँस्कृतिक, धार्मिक र प्राकृतिक दृष्टिकोणले सम्पन्न छ यसको लिच्छविकालिन समय देखीको ऐतिहासिक किंवदन्ति पनि उत्तिकै रोमाञ्चक छ” टिकेश नारायण श्रेष्ठले समुहलाई बताए,”धार्मिक दृष्टिकोणले मल्लकालिन समयमा यहाँका स्थानीयहरुलाई रोग, व्यथा लाग्ने, अन्नबालि उत्पादनमा कमि हुने, एक आपसमा झै-झगडा भईरहने हुनाले यसको समाधानको निम्ति राजाले एक तान्त्रिक बोलाई भद्रकालि माता मंदिरको स्थापना गरेका थिए जुन नेपालकै पुरानो र पहिलो भद्रकालि मंदिर हो ।”
चुनिखेल एक मात्र गाँउ नभई यो सात गाँउको सम्मिश्रित क्षेत्र हो । जस अन्तर्गत “टुःपेक, चुनिखेल, गाम्चा, कौडोल, सापाटार, जगडोल र नयाँवस्ति” पर्दछ । यहाँ नेवारी समुदायको बहुलियता छ ।
टुपेक प्रसिद्ध गणेश मंदिर, बुद्ध पोखरी, फाल्चा र वस्तिहरु हर्दै र ईतिहास बुझ्दैँ, टुसालको रिखेश्वर मंदिर, भद्रकाली जात्राको कहानी खोतल्दै हिडेका समुहले डुङ्गेधाराको चिसो पानि पिएर गर्मीको प्यास मेटाए ।
वस्ति-वस्ति अवलोकन गर्दै हिडिरहेका उनिहरुले घरको आँगनमा सुकाईएका धान चलाउदैँ स्थानीयहरु सँग संवादमा अल्झिए । केहिबेरको संवाद पछि चुनिखेल स्थित चुनिदेवि मंदिर सँगैको पिपल चौतारामा खाजा खाए र फेरी गाम्चा तिर लम्किए ।
गाम्चाको भद्रकालि मंदिर मुगेका मात्रै थिए निवर्तमान वडा अध्यक्ष उत्साहित हुँदै भद्रकालि मंदिरको किंवदन्ति सुनाउन थालिहाले । उनले भने “भद्रकाली मंदिरले दिएको आशिर्वाद हो-कि-के-हो मलाई यहाँ आउने वित्तिकै जोस एकदमै बढेर आँउछ” । यस्तै अरुलाई पनि महसुस भएको भन्दै उनको टिप्पणी प्रति धेरैले समर्थन गरे ।
“यस भद्रकालि मंदिरलाई जेठि भद्रकालि पनि भन्ने गरीएको छ । किनभने यो नेपालमा स्थापना भएको पहिलो भद्रकालि हो, श्रेष्ठले बताए, “बूढानीलकण्ठको प्रशिद्ध भद्रकालि जात्रा यहि बाट सुरु भएको हो” । जात्राको बेला नारायणस्थान, चपलि, पासिकोट, कौडल र टुपेक देखिका रथहरु यहाँ पुजा गरेर मात्र लैजाने चलन छ ।
भद्रकालि मंदिरको भ्रमण पश्चात कौडल-सापाटार हुँदै प्राकृतिक सौन्दर्यताले भरीपुर्ण जगडोल सामुदायिक बनको फेदमा पुगेर समुहले विश्राम गरे ।
केहिबेर को विश्राम पश्चात स्रष्टाहरू सृजनामा हराउन थाले । चित्रकारहरु क्यान्भासमा चुनिखेलका दृश्यहरु कोरिरहेका थिए । अर्को तिर कविहरू प्रकृतिमा डुब्दै शब्द खेलाउन व्यस्त भए ।
करिब डेढ घण्टा मन्त्रमुग्ध हुँदै सृजना उतारेपछि प्रस्तुतिको समयमा हौसला दिन आइपुगे नगर प्रमुख मिठाराम अधिकारी ।
प्रस्तुतिको क्रममा स्नेह सायमिले चुनिखेललाई नेपाल भाषामा ‘चुनिःख्य’ भनिने गरेको भन्दै चुनिखेलको बारेमा ‘चुनीःख्य’ शिर्षककै कविता वाचन गरेका थिए, लक्ष्म मालिले बढ्दो सहरीकरण र आधुनिकरणको कारण प्रभावित चुनीखेलको अवस्था बारे ‘हाम्रो आदिवासि मन’, सुनाए ।
यस्तै, बूढानीलकण्ठ निवासि श्याम श्रेष्ठ ‘संकल्प’ ले ‘मेरो अनुभुति भित्रको चुनिखेल’ , फुलमान बलको ‘गाँउ फर्केको मान्छे’ र अन्य ‘जात्रा जन्माउने गाँउ’, ‘भद्रकालिको आवाज’ जस्ता कृतिहरु सुनिएको थियो ।
त्यसैगरी, दिपेन्द्र बनेपालिले भद्रकालि मंदिरको घण्टालाई क्यान्भासमा उतार्दै त्यसले गुञ्जाउने आवाज चित्रण गरेका थिए । भद्रकालि मंदिर, चुनिदेवि मंदिर, सापाटार बाट देखिएको बन, जंगल र सहरहरुका दृश्य लगायत हिटि, फाल्चा जस्ता चुनिखेललाई चिनाउने जलरंग चित्रकलाहरु प्रस्तुत भएका थिए ।
प्रस्तुतिकरणमा उपस्थित प्रमुख मिठाराम अधिकारीले उत्पादन भएका सृजनाहरु मार्फत चुनिखेल प्रवर्द्धन र संरक्षणमा एक कोषेङुङ्गा सावित हुने बताउँदै चुनिखेललाई कलाको माध्यमबाट छेडि दिनुभएकोमा सबैलाई धन्यबाद दिए । उहाँले चुनिखेलको महत्व र ईतिहास स्मरण भने “यस क्षेत्रको थप अध्ययन र अनुसन्धान गर्न जरुरी छ” ।
यस्तै, वडा अध्यक्ष टिकेश नारायण श्रेष्ठले जेसुम टिमलाई साहित्यकारहरुले आफ्नो गाँउमा आएर साहित्यमार्फत यसको प्रवर्द्धनमा सहयोग गरिदिनुभएकोमा निकै आभारी रहेको बताए ।
फोटो फिचर