यस्तो कहिँ कहिल्यै नहोस् तर यदि कतै युद्ध भड्कियो भने र आणविक अस्त्रको प्रयोग भैहाल्यो भने बिशेषत सन्सारका शहरहरु नै पहिलो निशानामा पर्नेछन्, परिणामतः पल भरमै लाखौंको ज्युज्यान जानेछ, खरबौंको भौतिक संरचना ध्वस्त हुने छ र पृथ्वीका समस्त जीवले स्वास लिने यो वायु र वातावरण कालान्तरसम्म बिषाक्त बन्नेछ । विश्वको आकासमा मडारिइरहेको मानवता माथीको यो खतरालाइ न्युनिकरण गर्न संयुक्त राष्ट्रसंघ, राष्टहरु तथा सम्बद्ध संघसंस्थाहरु प्रयासरत छन् । शहरहरुलाइ पहिलो प्राथमिकतामा राखेर नै आणविक अस्त्र शस्त्रको खतरा र असरबाट शहर र शहरबासीलाइ बचाउ भन्ने आवाज विश्वमा उठिरहेको छ ।
आफ्नो शहर र शहरवासीको ज्युज्यानको रक्षा खातिर सम्बन्धित स्थानिय सरकार र निकायहरु चनाखो बन्नु पर्छ, शान्ति र अहिंसा प्रति प्रतिबद्ध हुनुपर्छ र विश्व शान्तिका यावत अभियानहरुमा एकयबद्धता जनाउनु पर्दछ । यहि भावनालाइ मुखरित गर्दै २ अक्टोबर २०२४ देखि ५ जनवरी २०२५ सम्म शान्ति र अहिंसाका निम्ति विश्व यात्रा अभियान सन्चालन गरिएको थियो । सो अभियानका अभियन्ताहरु अक्टोबर २१ म नेपाल आइपुगेका थिए र चार दिन सम्म यहाँ रहँदा विविध कार्यक्रमहरु गरिएका थिए ।
सो क्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर श्री मिठाराम अधिकारी र बिश्वयात्रा अभियानका अभियन्ता श्री राफेल डे ला रुबियाका बिच विश्व शान्ति अभियानका कार्यक्रमहरुमा बुढानिलकण्ठ नगरपालिकाको एक्यबद्धता रहने र यस्ता कार्यक्रमहरुमा सहभागीता जनाउने सम्झौता भएको थियो । साथै सन् २०१७ मा संयुक्त राष्टसंघले पास गरेको आणविक अस्त्र शस्त्र निषेध गर्ने संझौता Treaty on the Prohibition of Nuclear Weapons(TPNW) नेपाल सरकार र संसदले अनुमोदन गराउन प्रयास गर्ने एमओयुमा समेत हस्ताक्षर गरिएको थियो । सो कार्यक्रमको संपूर्ण संयोजन बुढानिलकण्ठ नगरपालिका, पर्यटन बोर्डले गरेको थियो ।
संयुक्त राष्ट्रसंघमा पारित भएको सो प्रस्तावमा नेपालले हस्ताक्षर गरेर पनि हालसम्म संसदबाट अनुमोदन नहुँदा त्यसले आधिकारिकता पाएको छैन र कृयाशिल हुन सकेको छैन । नगरपालिकाको सो प्रतिबद्धता र संझौतामा हस्तक्षरको परिणाम स्वरुप इन्टरनेशनल क्याम्पेन टु एबोलिश न्युक्लियर विपन्स् ICAN को सूचिमा समावेश हुने नेपालको पहिलो नगरपालिका बुढानिलकण्ठ हुन पुगेको छ । शान्तिकामी अन्तराष्ट्रिय संघ संस्थाहरुबाट मेयर मीठाराम अधिकारी र नगरपालिकालाइ बधाइ सन्देशहरु आइरहेका छन् ।