नवौं अन्तर्राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन ४ खेलाडीसहित जापानको टोकियो जान लागेका टिम म्यानेजर एवं बुढानीलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारीलाई नगर प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरुले शुभकामनाका साथ विदाई गर्नुभएको छ ।
अगष्ट २४ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र १ महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६० केजीमुनि एलन श्रेष्ठ, ६७ केजीमुनि अनिल उपरकोटी र ३५ केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्ने छन् । महिला ४० केजीमुनि सुस्मिता वाइबाले खेल्ने छिन् ।
टोली प्रमुखमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं संस्थापक प्रमुख प्रशिक्षक हरिशरण केसी तथा अफिसियलमा राजु अधिकारी छन् ।
एलन छैटौं, सातौं र आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । सुस्मिताले सातौं र आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । आरोनले मलेसियामा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जितेका थिए । अनिलको भने यो डेब्युु अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।