बुढानीलकण्ठ, आषाढ १८ गते । बुढानीलकण्ठ नगरपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत लघु उद्यमीहरुका लागि दुई दिने वित्तिय परामर्श तथा बजारीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम शुरु भएको छ।

नगरपालिकाका स्थानीयहरुले यस मेड्पा कार्यक्रम अन्तर्गत पछिल्लो आर्थिक वर्ष २०८०/८१ नयाँ उद्यमी सिर्जना तर्फका ३५ जनामा १५ जना झोल साबुन, सर्फ, फिनाइयल, डल्लो साबुनको तालिम लिएको, अचार तथा मस्यौरा बनाउने तालिम लिएका १३ जना, सेनेटरी प्याड बनाउने तालिम लिएका ७ जना तथा ढाका तथा कपडा बुनाई सम्बन्धी एडभान्स तालिम लिएका १० जना र पछिल्ला विभिन्न आर्थिक वर्षहरुमा नगरपालिकाको मेड्पा कार्यक्रम अन्तर्गत अचार र बाटेको धुप बनाउने लगायतको तालिम प्राप्त गरेका १७ जना गरि जम्मा ५२ जना उद्यमीहरुलाई यस तालिममा समावेश गरिएका छन्।

तालिम दुई दिनका लागि नगरपालिकाको वडा नं ७ स्थित छहारी भवनमा सञ्चालन हुनेछ ।

प्रशिक्षका रुपमा प्रभु बैंक बुढानीलकण्ठ शाखाका दुईजना प्रतिनिधीहरुले वित्तीय साक्षरता तथा परामर्श र व्यवसाय बीमा सम्बन्धी प्रशिक्षण दिनका लागि उपस्थित रहनुभएको थियो ।

त्यस्तै नगरपालिकाका उपप्रमुख अनिता लामाद्वारा नगरपालिकाको उद्यम सम्बद्ध नगरपालिको आगामी नीति तथा कार्यक्रमहरुका विषयमा सूचित गराउनुका साथै नगरपालिकासँग उद्यमहरुलाई जोड्दै लग्ने कार्यक्रमहरुका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।

“सहभागीहरुले यस कार्यक्रममार्फत व्यवसाय शुरु गर्न एवं लगानीका निमित्त आवश्यक पर्ने लागत तथा ऋण लिनका लागि बैंकको प्रक्रिया तथा व्यवसाय बीमा सम्बन्धी विस्तृत ज्ञान तथा जानकारी प्राप्त गर्नेछन्” मेड्पा शाखाका सरस्वती कुमारी लुहारले बताउनुभयो ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा नगरपालिकाका प्रमुख मिठाराम अधिकाृरी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, प्रशासन अधिकृत तथा उद्योग पर्यटन शाखाका प्रमुख राजकुमार थापा, वडा नं ३ का वडा सदस्य बालमाया श्रेष्ठ र वडा नं १२ का वडा सदस्य मीना बयलकोटीको उपस्थिति रहेको थियो । कार्यक्रमको व्यवस्थापन तथा सञ्चालन नगरपालिकाको मेड्पा शाखाको सरस्वती कुमारी लुहारले गर्नुभएको हो ।

सहभागी रहेका उद्यमीहरुले आफूले उत्पादन गरेका सामाग्री जसमा हार्पिक, फिनायिल, डल्लो साबुन, झोल साबुन, सर्फ तथा विभिन्न प्रकारका अचारहरु बिक्रीका लागि प्रदर्शन समेत गरके थिए।

मेड्पा कार्यक्रमद्वारा सिर्जिक उद्यमी सहभागीहरु यस प्रशिक्षण कार्यक्रमको सम्पूर्ण छनोट प्रक्रिया देखि लघु उद्यमी तयारी अवस्थासम्म गरिने विभिन्न प्रक्रियाहरु अत्यन्त प्रभावकारी तथा उत्कृष्ट रहेको सहभागीहरु बताउनुहुन्छ।

आगामी दिनहरुमा यस कार्यक्रमलाई नगरपालिकाको सम्पूर्ण वडाहरुमा सञ्चालन गर्न आवश्यक रहेको सहभागीहरुले प्रस्ताव समेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय