बुढानीलकण्ठ, जेठ ३२ गते ।
बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा लागु औषध विरुद्धको १ हप्ते सचेतना अभियान समापन भएको छ ।
वडा नं. १० को आयोजना र नमोवुद्ध ड्रग एण्ड अलकोहल ट्रिटमेन्ट एण्ड रिहाबिलिटेशन सेन्टरको आयोजनामा जेठ २० गतेबाट सुरु भएको अभियानको आज एक विशेष कार्यक्रम मार्फत समापन गरिएको हो ।
समापन कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, नगर प्रवक्ता एवं वडा अध्यक्ष नवराज भट्टराई, कार्यपालिका सदस्य रिता दहाल, वडा सचिव भोला ढुङ्गाना, नार्कोनक नेपालका निर्देशक वसन्त राज कुँवर, वरिष्ठ परामर्शदाता डा. विपिन थापा, नमोवुद्ध संस्थाका अध्यक्ष निशान देउला, उपाध्यक्ष ओमकार विक्रम कुँवर लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, संचारकर्मी, महिला समुह, महिला सञ्जाल, युवा परिषद पदाधिकारी लगायत युवा समुहको उपस्थिति रहेको थियो ।
अभियान अन्तर्गतको पहिलो चरणमा सहकार्यको भुमिकामा रहेको नमोबुद्ध उपचार संस्थाका विज्ञ परामर्शदाताहरु द्वारा वडामा रहेका १० वटा माध्यमिक विद्यालयका कक्षा ८,९ र १० का विद्यार्थीहरुलाई सचेतनामुलक अभिमुखिकरण प्रस्तुत गर्नुभँएको थियो ।
संस्थाका अध्यक्ष निशान देउलाका अनुसार १० वटा विद्यालयका कुल १६८० जना विद्यार्थीहरुलाई अभिमुखिकरण दिईएको छ । जसमध्य ८६ जना विद्यार्थीहरुले आफ्नो समाजमा र परिवारमा घटेका लागु औषधका घटनाबारे जानकारी दिँदै आवश्यक सहयोग मागेका थिए । देउलाका अनुसार ८६ जना मध्य २४ जना परिवारलाई घर-घअरमै गई परामर्श दिईएको छ भने ३ जनालाई आवश्यकता अनुसारको उपचार पद्दतिमा लगिएको छ । देउलाले जोड्नुभयो,”१०० जना भन्दा बढि विद्यार्थीहरु यसरीनै लागु औषध विरुद्धको सचेतनामुलक अभियानमा स्वयंसेवकको रुपमा जोडिने ईच्छा व्यक्त गर्नुभएको छ ” ।
पछिल्लो समय समाजमा यूवा यूवतिहरु लागु औषधको कुलतमा फस्दै गएको तथ्याङ्कलाई मध्यनजर गर्दै यस्तो अभियानको थालनी गरिएको वडा अध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभएको छ । उहाँले लागु औषध विरुद्ध अन्य फरक-फरक किसिमका प्रयोगात्मक अभियान र कार्यक्रमको थालनी गर्दै दुर्व्यशन रहित वडा बनाउने लक्ष्य बोकेको बताउनुभएको छ ।
समापन कार्यक्रममा उपस्थित वसन्त राज कुँवरले लागु औषध दुर्व्यशनबाट बच्ने र समाजमा यस किसिमका गतिविधिको नियन्त्रण र निर्क्यौल गर्ने उपायबारे आफ्नो महत्वपुर्ण भनाईहरु राख्नु भएको थियो । उहाँले यस अभियान अन्तर्गत समाजमा महिला सञ्चाल र युवा समुहको महत्वपुर्ण भुमिका रहेको बताँउदै उहाँहरुको काम र कर्तव्य जानकारी दिनुभयो ।
कार्यक्रममा उपस्थित नगर प्रमुख मिठाराम अधिकारीले लागु औषध दुर्व्यशनका कारण परिवार र समाज अस्तव्यस्त बनाएको केहि उदाहरण दिँदै नगरपालिकालाई लागु औषध दुर्व्यशन रहित बनाउनका लागी विभिन्न निति तथा कार्यक्रमहरु तयार भएको जानाकरी दिनुभएको छ ।
यस्तै डा. विपिन थापाले लागु औषध दुर्व्यशन भनेको समस्या मात्र नभई यो एक रोग हो भन्दै यसले व्यक्तिको मानसिक स्वास्थ्य प्रति पार्ने असरहरुबारे जानकारी दिनुभयो । उहाँले यस रोगलाई नियन्त्रण गर्न सकिने विभिन्न किसिमका उपचारहरुबारे छलफल गर्दै दुर्व्यशनमा फसेको व्यक्ति सामान्य जिवनमा फर्कन सक्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको थियो ।