काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा खेलकुदप्रेमीहरूका लागि बहुप्रतीक्षित दोस्रो बुढानीलकण्ठ नगर खेलकुद शिल्ड २०८३ आयोजना हुने भएको छ। प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बुढानीलकण्ठ नगरपालिका खेलकुद बोर्डले यसपटक प्रतियोगितालाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र भव्य बनाइने जनाएको छ। करिब ४० लाख रुपैयाँको लागतमा आयोजना हुन लागेको उक्त प्रतियोगिता आगामी वैशाख ११, १२ र १३ गते तीन दिनसम्म सञ्चालन हुनेछ। करिब ५०० खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको यस प्रतियोगिताले खेलकुदमार्फत स्वस्थ जीवनशैली, अनुशासन र सामुदायिक एकता प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। पत्रकार सम्मेलनकै क्रममा फुटबलतर्फको ‘टाइ–सिट’ पनि सार्वजनिक गरिएको छ, जसले प्रतियोगिताको उत्साहलाई थप उचाइ दिएको छ। आयोजकका अनुसार सबै खेलहरू व्यवस्थित तालिकाअनुसार सञ्चालन गरिनेछ।
खेलाडीहरूको सुरक्षालाई प्राथमिकता दिँदै सबै सहभागीका लागि बीमा व्यवस्था गरिएको जानकारी दिइएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता टोलीलाई ४ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै, प्रतियोगिताको विशेष आकर्षणका रूपमा रहेको रनिङ ट्रफी लगातार तीन पटक जित्ने टोलीलाई स्थायी रूपमा प्रदान गरिनेछ, जसले प्रतिस्पर्धालाई अझ रोचक र गौरवपूर्ण बनाउने विश्वास गरिएको छ।यस वर्षको प्रतियोगिताको आधिकारिक शुभंकर “स्वर्ग चरी” रहनेछ, जसले स्थानीय पहिचान, ऊर्जा र उत्साहको प्रतीकका रूपमा कार्यक्रमलाई जीवन्त बनाउनेछ। 
पत्रकार सम्मेलनमा बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख, खेलकुद बोर्डका संयोजक सुमन लामा तथा विभिन्न जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्तो प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।नगरपालिकाले यस प्रतियोगितामार्फत लुकेका प्रतिभाहरूलाई उजागर गर्ने, युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने तथा समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको जनाएको छ। प्रतियोगितासम्बन्धी थप विस्तृत जानकारी, खेल तालिका तथा सहभागी टोलीहरूको विवरण भने छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ।





