बूढानीलकण्ठ, बुधबार । बूढानीलकण्ठ नगरपालिका वडा नं ०२ निरन्तर वडावासीको सेवामा अघि बढ्दै छ । वडाले बुधबार घर-टोल मै गई दोस्रो चौमासिक सामाजिक भत्ता वितरण गरेको छ । भत्ता वितरण गरे संगै “घर-टोलमै सामाजिक भत्ता पुर्याउने” वडाको अभियानले निरन्तरता पाएको हो ।
आफ्नो वडामा रहेका जेष्ठ नागरिक, एकल र विधवा महिला, लक्षित वर्गिय बालबालिका, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता, भएका नागरिकहरुलाई बैंकमा गई लाईनमा कुर्नु पर्ने समस्यालाई मध्यनजर गर्दै ज्येष्ठ नागरिक र एकल महिलाहरुलाई टोल- टोलमा र अशक्त तथा पूर्ण अपाङ्गता भएका लाई घर-घर मै गई सामाजिक सुरक्षा भत्ता प्रदान गरिरहेको वडा अध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।
वडा भित्र रहेका नागरिकहरुलाई भौगोलिक हिसाबले सहज हुने वासिक चोक , चपली स्वस्थ्य चौकि, भंगाल सामुदायिक भवन र तपस्थली वृद्धाश्रममा प्रभु बैंक हात्तिगौँडा शाखाको सहकार्यमा सहायता डेस्क मार्फत १७२ जना ज्येष्ठ नागरिकहरुलाई यस आर्थिक वर्षको दोस्रो चौमासिक सामाजिक भत्ता वितरण गरेको हो ।
टोल टोलमा राखिएको सहायता डेस्क सम्म पनि आउन नसकेका नागरिकहरुलाई घरमै गई रकम बुझाएको वडा सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । केहि कागजातहरु नमिलेका कारण बैंक शाखा कार्यालयमै उपस्थित हुन पर्ने व्यक्तिहरुलाई वडा अध्यक्ष र आफु स्वयंले सहायता गर्दै बैंक सम्म लगि भत्ता प्रदान गरेको श्रेष्ठ बताँउछन् ।
वडाले नियमित रुपमा सेवा दिदैँ आएको “घर-टोलमै सामाजिक भत्ता पुर्याउने” अभियानले सेवा प्रदान गरिरहेका ज्येष्ठ, वृद्ध तथा अशक्त नागरिकहरूमा स्थानीय सरकार र जनप्रतिनिधिहरु प्रति विश्वास बढिरहेको पाईन्छ । यस प्रकारको सेवा दिएकोमा वडालाई धन्यवाद दिदैँ यस अभियानलाई थप व्यवस्थित गरी निरन्तरता दिन वासिकका ९१ बर्षीय न्युच्छे नारायण श्रेष्ठले अनुरोध गर्नु भएको थियो ।
नेपाल सरकारबाट तोकिएको सामाजिक सुरक्षा भत्ता दर
ज्येष्ठ नागरिक मासिक : २ हजार रुपैयाँ
एकल र विधवा महिला मासिक : २ हजार रुपैयाँ
पूर्ण अपाङ्गता भएका मासिक : ३ हजार रुपैयाँ
अति अशक्त अपांगता मासिक : १६ सय रुपैयाँ
लोपोन्मुख आदिवासी जनजाति मासिक : ३ हजार रुपैयाँ
बालबालिका (बाल संरक्षण अनुदान) मासिक : ४ सय रुपैयाँ
७० वर्ष पूरा भएका जेष्ठ नागरिक उपचार खर्च (मासिक) : १ हजार रुपैयाँ