बूढानीलकण्ठ, कार्त्तिक १६ गते ।

विश्वमै सबैभन्दा ठूलो कलात्मक हरि र हरले युक्त ढुङ्गाको मूर्ति रहेको बूढानीलकण्ठ मंदिरमा कार्त्तिक १८ गते बाट पाँच दिने हरिबोधनी एकादशी मेला सञ्चालन हुन लागेको छ । मेला सञ्चालनको लागि नगरपालिकाले भव्य रुपमा तयारी थालेको छ ।

बढि भन्दा बढि आन्तरीक र वाह्य भक्तजनहरु भित्राउने उद्देश्य सहित नगरपालिका र बूढानीलकण्ठ मंदिर व्यवस्थापन समिति लगायत अन्य संघ संस्थाहरुको संयुक्त सहकार्यमा तयारी थालिएको हो ।

कार्त्तिक १८ देखि कार्त्तिक २१ गते सम्म सञ्चालन हुने मेलामा भक्तजनहरुको सहजताका लागि सोधपुछ कक्ष, पार्किङ एरिया, स्वास्थ्य सिविर, चिया\खानेकुरा स्टल, मनोरञ्जन स्टल जस्ता व्यवस्थाहरु मिलाईएको छ । यसका लागि विभिन्न समिति र उपसमितिहरु गठन गरि कार्य विभाजन गरिएको नगर प्रमुख मिठाराम अधिकारीले जानकारी दिनु भयो ।

यी सबै  सेवाहरुको व्यवस्थापनका लागि बिद्यालय, स्काउट, युवा क्लब लगायत विभिन्न संघ संस्थाबाट ४०० भन्दा बढि स्वयंसेवकहरु समेत परिचालन गरिने उहाँले जोड्नु भयो ।

बूढानीलकण्ठ नारायणस्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्ने गर्दछ । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बूढानीलकण्ठ दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गरेको छ ।

मेलाकै अवसर पारेर कार्त्तिक १५ गते सोमबार देखि सातदिने श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ पनि सुरु गरिएको बूढानीलकण्ठ मंदिर मठाधिश एवम् संरक्षक श्री १००८ स्वामि निगमानन्द महाराजले जानकारी दिनुभएको छ । सप्ताहमा बूढानीलकण्ठको महत्व बुझाउने जानकारीमूलक प्रवचन पनि भइरहेको छ ।

कार्त्तिक २१ गतेसम्म सञ्चालन हुने हरिबोधिनी एकादशी मेलामा सांस्कृतिक झाँकीसमेत प्रदर्शन हुनेछन्  ।

आषाढ शुक्ल पूर्णिमाका दिन क्षीर सागरमा शयन गर्नुभएका भगवान् विष्णु कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन जागा हुनुहुने भएकाले यो एकादशीलाई हरिबोधिनी भनिएको हो  । यो चार महिनाको समयलाई चतुर्मास पनि भनिन्छ  । यस समयमा व्रत गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ  ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय